नेपाली काँग्रेस धादिङद्वारा प्रेस विज्ञप्ती जारी, संसद विघटन विरुद्धमा फेरि उभिन अपिल

Avatar photo
Dhadingpost
आइतवार, जेष्ठ ९, २०७८

धादिङ जेष्ठ ९ । नेपाली काँग्रेस धादिङएक विज्ञप्ती जारी गर्दै प्रतिनिधिसभा विघटनका विरुद्धमा उभिन अपिल गरेको छ ।
नेपाली काँग्रेस धादिङका सभापति रमेश धमलाद्वारा जारी विज्ञप्तीमा भनिएको छ,

देशको सर्वोच्च जनप्रतिनिधि संस्था प्रतिनिधिसभा विघटन गर्ने राष्ट्रपति र प्रधानमन्त्रीको गत पुस ५ गतेको हर्कतलाई सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेपछि पुनःस्थापित प्रतिनिधिसभालाई हिजो मध्यरातमा फेरि विघटन गरिएको छ । नेपालको संविधान धारा ७६(५) बमोजिमको सरकार बनाउन राष्ट्रपतिबाट आह्वान भएअनुरूप नेपाली कांग्रेसका सभापति एवम् संसदीय दलका नेता शेरबहादुर देउवाले प्रतिनिधिसभाका १४९ जना सदस्यको हस्ताक्षरसहित प्रधानमन्त्रीमा राष्ट्रपतिसमक्ष दावी गर्नुभएकोमा राष्ट्रपतिले त्यसलाई लत्याउँदै रातारात प्रतिनिधिसभा विघटन गरेका छन् ।

प्रधानमन्त्री केपी ओली र राष्ट्रपति विद्या भण्डारीको मिलेमतोमा गरिएको यो विघटन कुनै पनि दृष्टिले संविधानसम्मत छैन र गत फागुन ११ गते सर्वोच्च अदालतले पुनःस्थापना गर्दाको फैसलाको पूर्णपाठको मर्म र भावनाविपरीत छ भन्ने नेपाली कांग्रेस धादिङको ठहर छ । विघटनको उक्त कदम पूर्णतः असंवैधानिक र अलोकतान्त्रिक छ, अधिनायकवादी र सर्वसत्तावादी चरित्रको छ तथा संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानका विरुद्धमा छ । यसले जनमतको अवमूल्यन भएको छ, देशलाई राजनीतिक संकटको भुमरीमा पारेको छ र कोभिड(१९ संकटलाई सरकारले वेवास्ता गरेको सिद्ध भएको छ । नेपाली कांग्रेस धादिङ राष्ट्रपति र प्रधानमन्त्रीको उक्त कदमको कडा शब्दमा निन्दा, भत्र्सना र विरोध गर्दछ ।

नेपाली जनताको संघर्ष र बलिदानीबाट नेपाली कांग्रेसको नेतृत्वमा स्थापित संघीय लोकतान्त्रिक गणतन्त्र र लेखिएको नेपालको संविधानको रक्षाका लागि हामी प्रतिबद्ध छौं । विगतमा जनताको अपार साथले हरेक राजनीतिक तथा सामाजिक क्रान्ति तथा अभियानलाई हामीले उपलब्धिमूलक निष्कर्षमा पुर्याएका छौं । नेपाली कांग्रेस धादिङ जनताका पक्षमा भएका इतिहासका गौरवपूर्ण उपलब्धि र जनसहभागितालाई पुनः स्मरण र सम्मान गर्दछ । कोभिड(१९ संकटको यो विषम परिस्थितिमा आफू, परिवार र छिमेकलाई सुरक्षित राख्दै राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री केपी ओलीले मिलेमतोमा सिर्जना गरेका राजनीतिक संकटका विरुद्ध, संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानको रक्षाका लागि र प्रतिनिधिसभा विघटनका विरुद्धमा फेरि उभिन आमजनसमुदाय र सबै लोकतान्त्रिक शक्तिहरूलाई म हार्दिक अपिल गर्दछु ।

विज्ञप्ती जस्ताको तस्तैः