
धादिङ बैशाख २५ । धादिङ जिल्ला अस्पतालमा रहेको प्रदेश ३-०१-००२ झ ५४८२ नम्बरको एम्बुलेन्सलाई अहिले अक्सिजन सिलिण्डरको भारी बोक्दै ठिक्क छ ।
जिल्ला अस्पताल र जिल्लाको अस्थायी कोभिड अस्पतालमा गरेर दैनिक २५ वटा अक्सिजन सिलिण्डर खाली हुन्छ । उक्त एम्बुलेन्स अहिले खाली सिलिण्डिर काठमाडौं लैजाने र भरेर ल्याउने काममा प्रयोग हुँदै आएको छ, काठमाडौंमा सिलिण्डिर भर्न लाईन बस्नु पर्ने हुँदा पुरा दिन एम्बुलेन्स यसैमा व्यस्त हुन्छ ।
जिल्ला अस्पतालमा ४ जना र अस्थायी कोभिड अस्पतालमा १ जना गरेर ५ जना स्वास्थ्यकर्मी छन्, सिलिण्डर लोड अनलोड समेत यी नै स्वास्थ्यकर्मीले गर्नु पर्ने वाध्यता छ । एक साता देखि जिल्ला अस्पतालका ४० जना स्वास्थ्यकर्मी कर्मचारीहरु कोभिड संक्रमित भए सँगै पुरै जिम्मेवारी यी ५ जनामा आएको हो ।
सिलिण्डर भर्न लान र ल्याउन अरु गाडीको प्रयोग गर्न सकिए एम्बुलेन्स बिरामी बोक्न प्रयोग गर्न सकिन्थ्यो हाल त्यो हुन नसकेको स्वास्थ्यकर्मी कृष्णलाल उप्रेती बताउनु हुन्छ ।