
धादिङ बैशाख १४ । जिल्ला प्रसाशन कार्यालय धादिङका प्रमुख ज्ञान प्रसाद ढकालले मन्त्रिपरिषदले गरेको निर्णय आधिकारिक रुपमा नआएकोले कोभिड -१९ रोकथामको लागि थप निर्णय गर्न नसकिएकोले जिल्लाका विभिन्न विद्यालयहरुले तोकिएका परिक्षाहरु रोक्न नसक्ने बताएका छन् ।
मन्त्रिपरिषदको निर्णयबारे विभिन्न मिडियामा समाचारहरु त आएका छन्, हाम्रो लागि त्यो आधिकारीक हैन, कोभिड नियन्त्रणका लागि सिडियोले गर्न सक्ने के के हुन् ? निर्णयहरु आधिकारीक रुप मै आउनु पर्यो, त्यो अहिले सम्म आएको छैन, ढकालले धादिङपोष्टलाई बताए ।
मैले विभिन्न दलका नेताहरु, सरोकारवाला निकायहरु सँग पनि कोभिड -१९ रोकथामका लागि कसरी अगाडी भन्ने छलफल गरें, तर उहाँहरुले तोकिएका परिक्षाहरु रोक्नु हुन्न भन्ने सुझाव दिनु भयो । सरकारको निर्णय पनि हामीलाई प्राप्त छैन त्यो हुँदा भोलि देखि हुने भनेका परिक्षा हामीले रोक्दैनौं ढकालले भने ।
कोरोना भाईरस नेपालमा द्रुतगतिमा फैलिएको र समयमै रोकथाम गर्नुपर्ने सुझाव सहित सिएमसीले सरकारलाई सिफारिस गरे बमोजिम बैशाख १२ गते सम्पन्न मन्त्रिपरिषदको बैठकले देशभरका विद्यालय तथा शिक्षालयमा भौतिक उपस्थिति नभई पठन पाठन गर्नु पर्ने र पूर्व निर्धारित सबै प्रकारका परिक्षाहरु अर्को आदेश नभए सम्मका लागि स्थगित गर्ने निर्णय गरेको थियो ।
धादिङका प्रमुख जिल्ला अधिकारीले आफुलाई मन्त्रिपरिषदको निर्णय आधिकारीक रुपमा नआएकोले केहि निर्णय गर्न नसक्ने बताए सँगै नीलकण्ठ नगरपालिकाले बैशाख १५ गते बाट गर्न लागेको कक्षा ८ को परिक्षा सुचारु हुने भएको छ ।