
धादिङ चैत्र २९ । नीलकण्ठ नगरपालिकाको आयोजना तथा नीलकण्ठ माविको व्यवस्थापनमा भएको नगरपालिका स्तरीय छात्र र छात्रा भलिबल प्रतियोगितामा नीलकण्ठ र पञ्चकन्या मावि प्रथम भएका छन् ।


आज सम्पन्न उक्त प्रतियोगिताको फार्ईनलमा छात्र तर्फ धादिङबेसी स्थित एड्भान्स एकेडेमीलाई पराजित गर्दै आयोजक नीलकण्ठ मावि र छात्रा तर्फ एड्भान्स एकेडेमीलाई हराउँदै पञ्चकन्या मावि प्रथम भएका हुन् ।
नीलकण्ठ नगरपालिकामा प्राधानाध्यापक ध्रुव अधिकारीको सभापतित्वमा भएको प्रतियोगिता समापन तथा पुरस्कार वितरण कार्यक्रममा प्रथम यी दुई टिमलाई नगद २०-२० हजार सहित शिल्ड ,मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।


यस्तै द्धितिय हुने टिम छात्रा र छात्र दुई एड्भान्सका खेलाडीहरुलाई नगद १५-१५ हजार शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
त्यसैगरी तृतिय हुने छात्रा तर्फ प्रकाश मावि र कालिका आवि छात्र तर्फ प्रकाश मावि र पशुपति माविलाई नगद १०-१० हजार र शिल्ड, मेडल र प्रमाणपत्रले सम्मान गरिएको थियो ।
प्रतियोगितामा छात्रा तर्फ पञ्चकन्या माविका जर्सी नम्बर ११ का खेलाडी कृषला बराम र छात्र तर्फ नीलकण्ठ माविका जर्सी नम्बर १० का खेलाडी दुर्गाबहादुर तामाङलाई उत्कृष्ट खेलाडी घोषित गर्दै जनही २ हजार ६०० मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त पुरस्कार वितरण समारोहमा धादिङपोष्टका प्रधान सम्पादक नारायण सिलावलले उत्कृष्ट खेल प्रदर्शन गरेको भन्दै कालिका आधारभुत विद्यालयका छात्रा टिमलाई एउटा मिकासा बल उपहार स्वरुप प्रदान गरेका थिए ।
नीलकण्ठ नगरपालिका भित्र २७ वटा सरकारी र ५ वटा गैर सरकारी गरी ३२ वटा माध्यामिक विद्यालय रहेको भएता पनि यस प्रतियोगितामा छात्र तर्फ १८ वटा विद्यालय र छात्रा तर्फ ११ वटा विद्यालयले मात्रै सहभागिता जनाएका थिए ।