धादिङबेसी सदरमुकाममा नगरपालिकाद्वारा फ्री वाईफाई सेवा सुरु

Avatar photo
Dhadingpost
शुक्रबार, चैत्र २७, २०७७

धादिङबेसी चैत्र २७ । तपाई धादिङबेसी आउँदै हुनुहुन्छ ? कि धादिङबेसी मै हुनुहुन्छ ? अब तपाईले धादिङबेसीमा इन्टरनेट चलाउन शुल्क तिर्नु पर्ने छैन नीलकण्ठ नगरपालिकाले फ्री वाईफाई सेवा सुरु गरेको छ ।

धादिङबेसी पुछारबजार बसपार्क क्षेत्र, पुछारबजार प्रहरी बीट क्षेत्र, बीचबजार, धादिङ उद्योग वाणिज्य संघको भवन आसपासको क्षेत्र र सिरान बजार क्षेत्रमा आजबाट फ्री वाईफाई सेवा प्रदान गरिएको नीलकण्ठ नगरपालिकाका सूचना प्रबिधि अधिकृत सुरज जोशीले धादिङपोष्टलाई बताउनु भयो ।

एउटा राउटरबाट एकै पटक १५० जनाले र एक जनाले एक पटकमा ९० मिनेट नि:शुल्क चलाउन सक्ने गरी सेवा बिस्तार गरिएको उक्त फ्री वाईफाई सेवा शुक्रबार बिहान नगर प्रमुख भिम ढुङ्गानाले उद्घाटन गर्नुभएको हो ।

आज बजार क्षेत्रमा ५ वटा राउटरबाट ५ ठाउँमा फ्री वाईफाई सेवा सुरु भएकोछ र अरु राउटर राख्ने काम चलिरहेको छ र बैशाखको पहिलो हप्ता भित्र धादिङबेसी पुरै बजार क्षेत्रमा फ्री वाईफाई सेवा प्रवाह गरिने नगर प्रमुख ढुङ्गानाले बताउनु भयो ।

अब नगरपालिकाले जीपीएस सिस्टम राख्ने तयारी अगाडी बढाई सकेको छ, नीलकण्ठको विकासको विभिन्न इन्डिकेटरहरु मध्य सुचना प्रविधी द्रुत गतिमा भएको ढुङ्गानाले दावी गर्नु भयो ।

सदरमुकाममा सडक पिच भैसकेको छ र शाखा सडक पिचको लागि ४ करोडको टेण्डर प्रक्रियामा गहिसकेको छ र शाखा सडक पिच भए सँगै सदरमुकाम प्रवेस गर्ने सडक नाकाहरुमा वासिङ सेन्टर बनाई ग्रामिण सडकबाट आएका सवारीहरुलाई वासिङ गराएर मात्रै सदरमुकाम प्रवेस गराईने समेत उहाँले बताउनु भयो ।

सदरमुकाममा मुख्य समस्या खानेपानीको भएकोले त्यसको समाधानको लागि पनि नीलकण्ठ नगरपालिकाले विशेष योजना बनाई ५२ करोडको टेण्डर प्रक्रियामा जाने अन्तिम तयारीमा लगि सकेको समेत ढुङ्गानाले बताउनु भएको थियो ।