धादिङका यी दुई सडकले पाउँदै ८० करोड

Avatar photo
Dhadingpost
आइतवार, चैत्र २२, २०७७

धादिङ चैत्र २२ । प्रत्येक निर्वाचन क्षेत्रमा एक–एकवटा सडक आयोजना पर्ने गरी प्रधानमन्त्री केपी ओलीले शनिबार एकै पटक एक सय ६५ वटा सडक सञ्जालको शुभारम्भ गर्नुभएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आयोजित विशेष कार्यक्रममा एकैसाथ भर्चुअल माध्यमबाट यस कार्यक्रमको शुभारम्भ गर्नुभएको हो । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आयोजना गरेको सो कार्यक्रममा प्रधानमन्त्री ओलीले यो कार्यक्रमले सडक पूर्वाधार निर्माणमा फड्को मार्ने बताउँदै निर्धारित समयमै गुणस्तरीय सडक निर्माण गर्न निर्देशनसमेत दिनुभयो ।

एक निर्वाचन क्षेत्र भएका हिमाली जिल्लामा ६० करोड रुपियाँ र एक निर्वाचन क्षेत्र भएका पहाडी जिल्लाका निर्वाचन क्षेत्रमा ५० करोड रुपियाँ दिइने छ । यसैगरी दुई निर्वाचन क्षेत्र भएका २१ जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रलाई ४० करोड रुपियाँका दरले रकम दिइने छ ।

यसैगरी तीन वा सोभन्दा बढी निर्वाचन क्षेत्र भएका २० जिल्लाका प्रत्येक निर्वाचन क्षेत्रलाई २५ करोड रुपियाँका दरले रकम उपलब्ध गराइने छ । यसबाहेक काठमाडौँ जिल्लामा प्रतिनिर्वाचन क्षेत्र २० करोड रुपियाँ दिइने सरकारको योजना अनुसार धादिङले दुई वटा सडकको लागि ८० करोड पाउने भएको छ ।

जसमा धादिङ जिल्ला निर्वाचन क्षेत्र नं १ अन्तर्गतः चरौंदी-चौकी-स्यादुल-सोला भञ्ज्याङ- चितवन जोड्ने सडकलाई ४० करोड र धादिङ जिल्ला निर्वाचन क्षेत्र नं २ अन्तर्गत: सिमबेसी- गोलाड-आगिन्चोक-बेलुड-फुलखर्क‌-गुम्दी-री-लापा जोड्ने सडकको लागि ४० करोड पाउने भएको हो ।