धादिङ । लोकप्रिय खेल मध्ये एक हो फुटबल, सन् १३१४ अघि फ्रान्समा गोलाकार वस्तु प्रयोग गरेर फुटबल भएको दावी गरिए पनि आधुनिक फुटबलको सुरुवात भने बेलायतबाट सन् १५८१ बाट सुरुभएको पाईन्छ ।
नेपाली फुटबलको इतिहास भने वि. सं. १९७० सुरु भएको हो, त्यतिबेला ठमेलका नारायणनरसिंह राणा र नक्सालका सूर्यजंग थापाले फुटबल खेलेको पाइन्छ । फुटबललाई संस्थागत गर्ने काम भने नरशमशेरले राणाले गर्नु भएको हो ।
हामीले थोरै विश्व र नेपालमा फुटबलको सुवात बताउँदै गर्दा धादिङ जिल्लामा भने कहिलेबाट फुटबल खेलको सुरुवात भयो होला ? हामीले धादिङको फुटबल इतिहास तथ्य सहित खोज्ने प्रयास गरेका छौं ।
धादिङमा जिल्ला स्तरीय खुल्ला फुटबल प्रतियोगिता ०५४ सालमा भएको पाईएपनि, धादिङमा वि. स. २०३० साल देखि नै फुटबल खेल्न थालिएको पाईएको छ । गंगाजमुना गाउँपालिका स्थित फुलखर्क राम बाबु अधिकारी नै धादिङका पहिलो फुटबल भित्र्याउने व्यक्ति भएको केहि तथ्यहरुले देखाएको छ ।
२०३० सालमा गोरख बहादुर गणको बटालियन टिममा छनौट भएर खेले सँगै आफुले धादिङमा पनि फुटबल विकास गर्नुपर्छ भनेर गाउँ फुलखर्कमा खेलको लागि युवहरुको ध्यानाकर्षण गराएको धादिङका पहिलो फुटबल खेलाडी अधिकारी बताउनु हुन्छ । उहाँ गोरख बहादुर गण जागिरे भए सँगै फुटबल, भलिबल र बास्केट्बल तीनै बिधा राम्रो खल्ने खेलाडी हुनुहुन्थ्यो ।
यो सँगै धादिङ फुलखर्कका ज्ञान बहादुर बानिया, बाबु अधिकारी, बाबु ठांडे (अधिकारि), कुमार अधिकारी, त्रिपुरासुन्दरी कार्कीगाउँका कर्ण विक्रम मल्ल र गुरुङ थरका एक जना (नाम थाहा हुन नसकेको) फुटबल खेल्न सुरुगरे सँगै २०३१ मा सेना र प्रहरीले लगेको भेटिन्छ ।
उहाँहरु जागिरे भईसेकपछि विभागिय क्लवहरुमा जोडिएर फुटबल खेल्न थाल्नु भयो भने धादिङमा विस्तारै फुटबल प्रतिको मोहको विकास हुदै गयो । यो क्रम २०४० सम्म रह्यो । फुलखर्क र त्यस आसपास खेल प्रति रुची भएकाहरुले सेना र प्रहरीमा जागिर पाउन थालेपछि स्थानीय स्तरमा सेना प्रहरीमा जान पनि फुलखर्कमा फुटबल प्रति अकर्षण बढेको पाईन्छ ।
यो सँगै ०४१ सालमा सुनौलाबजारबाट धादिङको सदरमुकाम धादिङबेसी सरे सँगै हाल धादिङ जिल्ला अस्पताल रहेको ठाउँ र मालेबगरमा फुटबल खेलको सुरुभएको पाईन्छ । धादिङबेसीमा विष्णुलाल श्रेष्ठ (हाल धादिङका उत्कृष्ट ब्याडमिण्टन खेलाडी) गोविन्द श्रेष्ठ, राजेश श्रेष्ठ लगायतले फुटबल सुरुवात गरेको विष्णुलाल श्रेष्ठले हामीलाई बताउनु भयो ।
नेपालका विभिन्न जिल्लाहरुमा विशेषत काठमाडौ चितवनमा फुटबलको विकासले निकै गति लिए सँगै धादिङमा पनि विभिन्न क्लवहरु गठन हुन थाले । गाउँ-गाउँमा भलिबल र फुटबल खेल २०५० सम्म आउँदा लोकप्रिय बन्न थालेको श्रेष्ठ बताउनु हुन्छ ।
नीलकण्ठ नगरपालिका १४ धुवाँकोटमा पनि ०५१ बाट बोष्टन तामाङ, धनेन्द्र तामाङ, रोशन तामाङ, रामसिंह तामाङ लगायतले फुटबल खेल सुरु गरे सँगै स्थानीय बुद्धिलाल तामाङ (हाल क्यानडा), धनबहादुर तामाङ, मानबहादुर लगायतले पात्लेमा खेल मैदान निमार्ण गर्नुभएको थियो । उक्त खेल मैदान अहिले पनि सुधारिएको अवस्थामा देख्न सकिन्छ । धादिङमा फुटबल खेल्नकै कै लागि खेल मैदान निमार्ण भएको यो पहिलो भएको बताईन्छ ।
०५१–०५३ मा महादेबेसी र आसपास फुटबल चन्द्र तामाङ, श्याम लामा, रामकृष्ण थापामगर (हाल लण्डन) संजय लामा, विकास कार्की विनोद लामा, जंग तामाङ राजु थापा जस्ता खेलाडीहरु देखा परे । ०५१ सालमा जिल्ला खेलकुद विकास समिति गठन भएपनि यस समितिले फुटबललाई हाल सम्म पनि खासै महत्व दिएको देखिएन । भलिबल खेलाडी राजेन्द्र अधिकारी धादिङका पहिलो जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हुनुहुन्छ उहाँका अनुसार जिल्लामा फुटबलको सुरुवात भएता पनि संस्थागत प्रतियोगिता भने ०५३ सम्म भएको कुनै जानकारी छैन ।
धादिङमा पहिलो पटक खुल्ला फुटबल प्रतियोगिता
धादिङमा जिल्ला स्तरीय प्रतियोगिता ०५४ साल चैत्र २१ गते देखि बैशाख १ गते सम्म गजुरी गाउँपालिकाको आदमघाटमा भएको प्रमाण भेटिएको छ । इन्द्राणी तरुण क्लवले आयोजना गरेको यस प्रतियोगितामा उत्कृष्ट खेलाडी गजेन्द्र तामाङ घोषित हुनुभएको थियो भने प्रतियोगिताको उपाधी बेनीघाट रोराङ स्थित मुनलाईट युवा क्लव चरौंदीले जितेको थियो । यस टिममा सहदेव रिजाल, ऋषि विसुराल, रामकुमार श्रेष्ठ, विनोद शाह लगायत सहभागि थिए यस ठिमले चितवनबाट खेलाडी किनेर ल्याएको उक्त प्रतियोगितामा खेल्ने खेलाडीहरु आरोप लगाउँछन् ।
यस प्रतियोगिताको प्रथम विजेताको शिल्ड सहदेव रिजाल सँग सुरक्षित रहेको तर हामीले अनुरोध गर्दा पनि उक्त शिल्डको फोटो खिच्न दिनु भएन ।
जिल्ला स्तरीय यस प्रतियोगिता भएपनि अधिकाँश टिमले खेलाडी बाहिरी जिल्लाबाट ल्याएका थिए खेलमा विवाद हुँदा २ दिन रोकिएको थियो । झगडा नै परेको चरौंदीबाट प्रतियोगितामा सहभागि खेलाडी विनोद शाहले स्मरण गर्नुभयो ।
यस प्रतियोगिताबाट गजेन्द्र तामाङ, प्रदिप श्रेष्ठ, प्रविण पाण्डे, विकास कार्की, विनोद शाह, शशि लामिछाने, प्रज्वल अधिकारी, बालकृष्ण भुजेल, महेश प्रजापति लगायतका खेलाडीहरु चर्चामा आए ।
धादिङमा दोस्रो प्रतियोगिता
धादिङबेसीमा गणेशमान स्मृति कप अन्तर मावि जिल्लाको दोस्रो प्रतियोगिता हो भने विद्यालय स्तरीय प्रतियोगिताहरुमा प्रथम हो । यो प्रतियोगिता युवा पुस्ताका सिनियर फुटबल खेलाडीका रुपमा चिनिएका धादिङ समाज धादिङका भिषण श्रेष्ठको अगुवाईमा नेपाल विद्यार्थी संघ नीलकण्ठ उमाविले आयोजना गरेको पाईएको छ । उक्त प्रतियोगिता आयोजक भिषण श्रेष्ठले नै नेतृत्व गरेको नीलकण्ठ उच्च मावि प्रथम भएको थियो ।
धादिङमा तेस्रो प्रतियोगिता
वि.स.२०५५ सालमा बिशालटारमा बेनि युवा सामाजले गर्यो गरेको प्रमाणहरु भेटिएका छन् । यस प्रतियोगितामा जम्मा १० टिमले भाग लिएका थिए । जसमा चितवनबाट समेत २ टिमले सहभागिता जनाए । यो प्रतियोगितामा मुनलाइट युवा क्लव चरौदी प्रथम आयोजक वेनि युवा वेबिघाट द्धितिय भएको थियो ।
धादिङमा चौथो प्रतियोगिता
धादिङमा ०५६ साल माघमा थाक्रेको महादेवबेसीमा विकास कार्की र राजु थापा दुई जना मिलेर अन्तर क्लव स्तरीय खुल्ला प्रतियोगिताको आयोजना गरे । दिपेन्द्र थापा स्मृति कप नाम दिएको उक्त प्रतियोगितामा ९ वटा क्लवले भाग लिएका थिए ।
आर्मी र प्रहरीले समेत भाग लिएको उक्त प्रतियोगिताको उपाधि भने चन्द्र तामाङ, श्याम लामा, रामकृष्ण थापा क्षेत्री (हाल लण्डन), संजय लामा, विकास कार्की विनोद लामा, जंग तामाङ राजु थापा सहभागि आयोजक कुत्कुते युवा क्लव महादेवबेसीले नै हात परेको थियो । यस प्रतियोगितामा नौबिसे युवा क्लव, लियो क्लव खानीखोला, बैरेनी युवा समुह, इन्द्राणी तरुण क्लव, तसर्फु युवा क्लव, सिम्लेली युवा क्लव, आहुती युवा क्लव जुँगेखोला लगायतका क्लवहरु सहभागि थिए ।
यस्तै २०५७ साल असोज १२ देखि १६ गते सम्म २०५७ सालको वडा दशैको उपलक्ष्यमा माझीटार सामुदायीक विकास केन्द्र कुम्पुरले पनि पुटबल प्रतियोगिता गरेको थियो ।
यो सँगै जिल्लामा टोल स्तरीय, प्रतियोगिताहरु हुन थाल्यो । धादिङमा जिल्ला फुटबल संघ तर्दथ समिति २०६३ चैत्रमा गठन भए सँगै २०६४ बैशाखमा मान्यता पायो । यसपछि जिल्ला फुटबल संघले अहिले सम्म ८ वटा जिल्ला लिग सम्पन्न गरि सकेको छ । जसमा भद्रकाली साविस मलेखुले ३ पटक, धादिङ समाज धादिङले ३ पटक घाटबेसी युवा क्लवले १ र धुनीबेसी युवा क्लव धार्केले १ पटक उपाधी चुमेका छन् ।
यस अघिका प्रतियोगिताहरु जिल्ला स्तरीय भनिए पनि हरेक क्लवहरुले जिल्ला बाहिरबाट खेलाडी ल्याउने चलन थियो । ०६४ सालमा आएर जिल्ला फुटबल संघ धादिङले प्रथम एन्फा कपको आयोजना सुरु गरे सँगै जिल्लामा खेलाडीको उल्लेख्य विकास भएको पाईन्छ ।
आठौं एन्फा लिक सम्म आउँदा धादिङ धेरै फुटबल मोह पैदा भैसकेकोले जिल्ला स्तरमा धेरै खेलाडीहरु उत्पादन भैसकेका थिए । रबिन्द्र श्रेष्ठ, राजेन्द्र घले, तारा मगर, आकाश मगर, बलबहादुर मगर, शैलेन्द्र तामाङ, गोपीकृष्ण भण्डारी, रवि भण्डारी, अनमोल भण्डारी, विपिन श्रेष्ठ, सन्तोष रेग्मी, दिपेन्द्र रेग्मी लगायत एन्फा लिगबाट चर्चामा आएका खेलाडीहरु हुन् ।
हाल टोल टोलमा फुटबल खेलाडी भेटिने गरेका छन् । धादिङमा फुटबलको बिकासका लागि नीलकण्ठ नगरपालीकाका जनप्रतिनिधी समेत रहेको धादिङ समाज धादिङका क्याप्टेन गोपी कृष्ण भण्डारीले फुटसल समेत संचालन गरि रहेका छन् । धादिङ समाज धादिङ, भद्रकाली युवा क्लव मलेखु, धुनीबेसी युवा क्लव लगायतका क्लवहरु धादिङका उत्कृष्ट क्लवहरुमा पर्दछन् ।
धादिङमा हाल नियमित फुटबल प्रतियोगिता गर्दै आएका क्लवहरु
न्यु वाका राह युवा क्लब सेमजोङ
साबिक सेम्जोङ १ गैराको “वाका” धादिङ जिल्लाकै उत्कृष्ट पर्यटकीय गन्तव्यको प्रचार प्रसारको लागि “वाका” कप फुटबल अन्तर क्लव खुल्ला प्रतियोगिता न्यु वाका राह युवा क्लबले सेमजोङले गर्दै आएको छ । यसको पुरस्कार राशी एकलाख भन्दा माथि रहँदै आएको छ ।
विद्यार्थी उपकार संघ धुवाँकोटद्वारा ०७० देखि नियमित वार्षिक फुटबल प्रतियोगिता
०५१ साल देखि फुटबल खेद्यन थालिएको धुँवाकोटमा नियमित खुल्ला अन्तर क्लव स्तरिय प्रतियोगिता भने ०७० देखि नियमित रुपमा प्रत्येक वर्ष मानबहादुर स्मृति कपका रुपमा संचालन हुँदै आएको छ अहिले सम्म सातौ मानबहादुर कप सम्पन्न भैसकेको सुरेश सेन्देन तामाङ बताउनु हुन्छ ।
मार्पाक सामुदायिक क्लब
मार्पाक सामुदायिक क्लब द्धाराले पनि ०७४ देखि नेत्रावती कप खुल्ला फुटबल प्रतियोगीता गर्दै आएको छ ।
गुराँस युवा क्लब दार्खा
दार्खामा रहेको गुराँस युवा क्लबले पनि पछिल्लो केहि वर्ष यता नियमित रुपमा फुटबल प्रतियोगिता गर्दै आएको छ ।
धादिङमा जिल्ला खेलकुद समितिका अध्यक्षहरु
१. गंगादत्त खतिवडा
२. रामकृष्ण अधिकारी
३. अर्जुन गोरखाली
४. सरद अधिकारी
५. मनराज भण्डारी
६. विकास कार्की
७. प्रताप सिंह तामाङ
०५१ साल पछि सरकारले जिल्ला खेलकुद समितिका अध्यक्षहरु राजनीतिक नियुक्तीबाट बन्न सुरुभयो, जसको सरकार आयो त्यहि पार्टीले आफ्ना कार्यकर्तालाई नियुक्ती दिने चलन अनुसार धादिङमा पनि हाल सम्म ७ जना अध्यक्षहरु फेरिए । तर हाल सम्म यो समितिले फुटबलको विकासका लागि एउटै प्रतियोगिता चलाएको देखिएको छैन ।
धादिङ महिला फुटबल उदाउँदो
अखिल नेपाल फुटबल संघले आयोजना गरेको Kwiks Cup विद्यालय छात्रा फुटबल प्रतियोगिता ०७६ मा धादिङ बागमती प्रदेश विजेता बनेको थियो ।
प्रदेश विजेता धादिङका महिला खेलाडीहरु रितु घले, सुस्मिता श्रेष्ठ, सुझा माझी, रञ्जिता दुरा, रविना दुरा, पावैती घले, कमला घले, संगिता तामाङ, सजिना राई, पुर्णिमा लामा, मनिशा श्रेष्ठ, अन्जना विशुराल, अंजना रिजाल, सविना श्रेष्ठ, नविना श्रेष्ठ, पुजा गुरुङ, सुस्मा घिमिरे, सजिना घले थिए ।
उक्त प्रदेश स्तरिय प्रतियोगितामा धादिङले चितवनको विरुद्ध १३ गोल, दोलखा बिरुद्ध धादिङले ४ गोल र काभ्रेलाई ४ गोलले गर्दै राष्ट्रिय प्रतियोगितामा छनौट भएको थियो । विद्यालय स्तरीय यस उपलब्धीलाई हेर्ने हो भने पनि फुटबलमा धादिङका महिला खेलाडीहरुको आकर्षण बढ्दो छ ।