
धादिङ कार्तिक १ । हिन्दुहरुको पर्व बडादशैँको आज पहिलो दिन आफ्नो मूलघरको पूजाकोठामा घटस्थापना गर्दै जमरा राख्ने गरिन्छ ।
पूजाकोठाको भुइँलाई गाईको गोबरले लिपेर चोखो पारी चोखो बालुवा वा माटोमाथि दियो कलश गणेश स्थापना गरी टपरी भिँगुट माटो वा तामाको भाँडामा गोबर टाँसेर जौ र गहुँ मिसाएर घटस्थापना गर्ने प्रचलन छ ।
घटस्थापनाको साइत बिहान ११ः४६ बजे उत्तम रहेको ज्योतिषी डा सुनील सिटौला बताउनु भयो । यसै दिन देखि नौ दिनसम्म विभिन्न शक्तिपीठमा पूजाअर्चना गर्दै नवरात्र मेला आरम्भ भए पनि यो पल्ट कोरोना सङ्क्रमणका कारण मुलुकका सबै शक्तिपीठ देवस्थलमा जमघट गर्न र मेला भर्न निषेध गरिएकोले घरघरमै नवरात्र दुर्गा भवानीको आराधना गर्न सरकारले अनुरोध गरेको छ ।