सामुहिक प्रयासको नमुना, ओर्बाङ आ.वि.

Avatar photo
Dhadingpost
सोमवार, अशोज १९, २०७७

दिपेश कडेल/सुरज पाण्डे
धादिङ असोज १९ ।
भनिन्छ नि, निरन्तर प्रयास गरियो भने, अवश्य सफल भइन्छ । त्यस्तै सफलताको एक उदाहारण बनेको छ, बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ३ मा अवस्थित ओर्बाङ आधारभुत विद्यालय ।

२०३५ सालमा स्थापना भएको यस विद्यालयले आफ्नो काँचुली फेरेको छ । चेपाङ समुदायको बहुलियता रहेको ओर्बाङ बस्तिमा रहेको यस बिद्यालयले २०४२ सालमा ५ कक्षा सम्मको स्वीकृति पाएको थियो । हाल २ स्थायी, २ राहात, १ बालबिकासको कोटाको शिक्षक रहेको यस बिद्यालयमा २०५४ सम्म आउदा नियमीत ४ देखि ५ जना विद्यार्थीहरु हुन्थे तर हाल यो आकडा १०० को हाराहारी पुगेको छ ।

पृथ्वी राजमार्गबाट करिव उकालो १ घन्टाको पैदलबाट पुगिने यस बिद्यालयको बाहिरि र भित्री दृश्य आश्चर्य र लोभलाग्दो छ । सफा र आकर्षक विद्यालय परिसर, व्यवस्थित कक्षा व्यवस्थापन र जुझारु टिम देख्दा लोभलाग्दो र उर्जा प्रधान गर्ने किसिमको छ ।

विद्यालय यहाँ सम्म आइपुग्न स्थानीय तह एवम् विभिन्न संघसंस्थाको हात रहेको बिद्यालयका प्राध्यानाध्यपक नवराज पाण्डेले बताउनु हुन्छ । “GNHA , राष्ट्रिय पुनर्निर्माण आयोजना कार्यनयन इकाई , JIKA , INIKE ( भानु खतिवडा मार्फत ) जस्ता सहयात्रीले हामीमा झनै उर्जा थपेको छ “प्रअ पाण्डे बताउनु हुन्छ ।

विद्यालयलाई आवश्यक थप जग्गा खरिदमा स्थानीय तहको साथ र सहयोगले विद्यालयलाई नयाँ उर्जा प्रधान गरेको छ ।GNHA को सहयोगमा २०७१ बाट लागुभएको MGML बाट हुने कक्षा संचालनले विद्यार्थीहरु हर्षका साथ व्याबाहारिक ज्ञान प्राप्त गर्न सफल भएका छ्न् ।

पारिवारिक वातावरणमा विद्यार्थीहरुले खेल्दै पढेको देख्दा वास्तविक सिकाईको अनुभव गर्न पाइन्छ । “हामी पनि MGML मा धेरै कुरा सिक्दै अघिबढिरहेका छौ ” शिक्षक राममायाले बताउनु भयो । कक्षा जति झकिझकाउ र सुन्दर देखिएको थियो, त्यो सँगै शिक्षकहरु तथा व्यवस्थापनको मेहेनत प्रष्ट देखिएको थियो । “यदि लगनशील र निरन्तर लागीपर्ने हो भने हरेक कुरा सम्भव रहेछ ” प्रअ पाण्डेले बताउनु भयो ।

साँच्चै नै दृढ इच्छा शक्ति हुने हो भने सरकारी विद्यालयको शैक्षिक स्थिति र क्रियाकलापमा आमूल परिवर्तन ल्याउन सकिन्छ भन्नेको गतिलो उदाहारण बनेको छ ओर्बाङ आवि । सबै सरकारी विद्यालयका हेडसर, शिक्षक, व्यवस्थापन समिति, स्थानीय तह र सरोकारवालाहरु यसैगरी नै लागीपरेको खण्डमा निश्चय नै सरकारी विद्यालयहरुले काचुली फेर्नेछन् । सरकारी विद्यालय सुधार र शिक्षालाई गुणात्मक बनाउन ओर्बाङ आविको सिको गर्ने कि ?