
उद्धव चेपाङ
धादिङ असार ११ । बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ६, ८ र ९ का कुपोषित बालबालिकाको परिवारलाई खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री वितरण कार्यक्रम सम्पन्न भएको छ ।
जनकपुरधाम स्थित भोर नामक संस्थासँगको साझेदारीमा शान्ति नेपालले खाद्यान्न तथा सरसफाई स्वच्छता सामग्री बेनिघाट रोराङ गाउँपालिकामा वितरण गरेको हो ।
बुधबार बेनिघाट रोराङ गाउँपालिका वडा नम्वर ६ को ३७ घर, वडा नम्वर ८ को २३ घर र ९ को १७ घर गरी ७७ घरधुररीलाई राहत वितरण गरिएको थियो भने विहिबार बाँकी वडामा वितरण गरने शान्ति नेपालका परियोजना संयोजक लाल प्रसाद पोखरेलले धादिङपोष्टलाई बताए ।
कुपोषित बालबालिकाका परिवारलाई प्रति परिवार ३० किलो चामल, ३ किलो सर्वोत्तम पिठो ३ किलो, खाने तेल २ लिटर, दाल २ किलो, एक क्रेट अण्डा, मिश्रित गेडागुडी २ किलोको साथै ५ वटा हातधुने सावुन, २ वटा लुगाधुने सावुन, मञ्जन १ र ब्रश ३ थान स्वच्छता सामाग्री वितरण गरिएको छ ।
चेपाङ समुदायमा आफ्नो आम्दानीले औंषत ६ महिना मात्र खान पुग्छ भने बैशाखदेखि श्रावणभरी बहुसंख्यक परिवार ज्याला मजदुरीमा निर्भर हुन्छन् । विश्वब्यापी कोरोनाको महामारीका कारण आर्थिक क्षेत्र पनि नराम्ररी प्रभावित हुँदा ज्यालादारी कामको अभाव भएको र अती विपन्न परिवारमा खाद्य संकट बढ्दो छ । परिणामत समुदायमा कुपोषित बालबालिकाको संख्या पनि बढ्दै गएको छ ।
पोषणको क्षेत्रमा काम गर्दै आएको शान्ति नेपालले यस विषम परिस्थितिमा कुपोषणका कारण बालविकासमा पर्ने क्षति न्यूनिकरणका लागि विशेष पोषण प्याकेज वितरण गर्ने योजना बनाएको छ ।
बेनिघाट रोराङ गाउँपालिकाको २०५ घर परिवारका २१० कुपोषित बालबालिका र गजुरी गाउँपालिकाको ५८ घर परिवारका ६१ जना कुपोषित बालबालिकालाई राहत वितरण गर्न लागेको शान्ती नेपालका सामुदायिक स्वास्थ्य सहजकर्ता कुमार चेपाङले जानकारी दिए ।