धादिङ असार २२ । धादिङ जिल्ला स्तरिय खुल्ला कविता प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पसमा अध्यनरत विजय तामाङ प्रथम भएका छन् ।
आदर्श बहुमुखी क्याम्पस, गजुरी धादिङको आयोजना तथा गजुरी गाउँपालिकाको संयोजनमा शनिबार भएको प्रतियोगितामा तामाङ जिल्ला प्रथम भएका हुन् ।
त्यसैगरी दोस्रो स्थान आदर्श बहुमुखी क्याम्पस गजुरीकी छात्रा साम्भवी थापा, तेस्रो स्थान सल्यानटार क्याम्पसमा अध्ययनरत छात्रा शोभा गिरि र चौथो स्थान आदर्श बहुमुखी क्याम्पसमा अध्ययनरत छात्रा सत्यवती पाण्डे भए ।
बरिष्ठ साहित्यकार दामोदर पुडासैनी (किशोर) को प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा यसै वर्ष नेपाल प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित राष्ट्रव्यापी कविता प्रतियोगितामा प्रथम हुने कवि हेम प्रभासले प्रमुख निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
गजुरी गाउँपालिकाका अध्यक्ष राजेन्द्र बिक्रम बस्नेतको विशेष आतिथ्यता उक्त कार्यक्रमको सभापतित्व क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष पुरुषोत्तम श्रेष्ठले गरेका थिए । जिल्ला प्रथम भएका तामाङ धादिङबेसी स्थित एड्भान्स एकेडेमीका शिक्षक समेत हुन् ।