विश्व रेडक्रस दिवसको अवसरमा धादिङ अस्पताल परिसर सरसफाई

Avatar photo
Dhadingpost
बुधबार, बैशाख २५, २०७६

धादिङ बैशाख २५ । विश्व रेडक्रस दिवसको अवसरमा बुधबार बिहान धादिङबेसी सदरमुकाम स्थित जिल्ला अस्पताल परिसर सरसफाई गरिएको छ ।

रेडक्रस नीलकण्ठ उपशाखा, रोटरी क्लव अफ धादिङ, एम्बुलेन्स संचालक, जिल्ला अस्पताल परिवार र स्थानीयहरुको सहभागितामा विश्व रेडक्रस दिवसको अवसर पारि जिल्ला अस्पतालमा रहेका विरामीलाई फलफुल वितरण तथा अस्पताल परिसर सरसफाई गरिएको हो ।

रेडक्रसका संस्थापक हेनरी ड्युनाको जन्मदिनमा उनले गरेको योगदानको कदर गर्दै मे ८ लाई संसारभर विभिन्न कार्यक्रम आयोजना गरि विश्व रेडक्रस दिवसका रुपमा मनाइने गरिन्छ ।

विशुद्ध मानविय सेवालाई ध्यानमा राख्दै हेनरीले सन् १८६३ मा रेडक्रस सोसाइटीको स्थापना गरे । उनको विचारलाई आदर सम्मान गर्दै सन् १८६४ मा जेनेभा सम्मेलन भयो र यसले अधिकारीक मान्यताप्राप्त गर्यो । तर नेपालमा भने बि.स. २०२० सालमा मात्र रेडक्रसको स्थापना भएको हो ।

रेडक्रसको मुख्यलक्ष्य भनेको मानव उद्धार हो । मानबिय उद्धार भन्नाले मानव वा प्रकृतिबाट घटेका हरेक प्रकारको विपत्तिले मानिसको जीवनमा भयावह क्षति पुर्याउछ र त्यस्तो अवस्थाबाट पीडितलाई उद्धार गरि जीवन रक्षा गर्नु भन्ने बुझिन्छ ।

अन्तर्राष्ट्रिय मानवीय सहायता, मानव जीवन र स्वास्थ्यको रक्षा, सबैप्रति आदर र विपद्लाई कम गर्ने उद्धेश्यका साथ स्थापना भएको योसंस्थामा अहिले विश्वका झण्डै २ करोड मानिस स्वयं सेवकका रुपमा कार्यरत छन् ।