चितवन,कार्तिक २८ । चितवनको कृषि तथा वनविज्ञान विश्वविद्यालयमा विद्यार्थीहरुले आगजनी गरेका छन् ।
मंगलवार साँझ विश्वविद्यालयको पछाडिबाट प्रवेश गरेका विद्यार्थीहरुले विश्वविद्यालयको केन्द्रीय कार्यालय भवनको मुल गेट र परिक्षा नियन्त्रण कार्यालयमा आगजनी गरेका हुन् । आगजनीबाट परिक्षा नियन्त्रण कार्यालयको तल्लो तलामा क्षति पुगेको छ ।
कार्यालयको ताला फोडेर भित्र पसेका विद्यार्थीहरुले पेट्रोल छर्किएर आगो लगाएका थिए । उनीहरुले टायरसमेत लगरे कार्यालयभित्रै बालेका थिए । प्रहरी र विश्वविद्यालय सुरक्षाकर्मीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । उनीहरुले विश्वविद्यालयका झयालका सिसा समेत फुटाएर क्षति गरेका छन् । आगजनी र तोडफोडबाट लाखौंको नोक्सानी भएको विश्वविद्यालयले जनाएको छ ।
दुई बर्षअघि मात्रैं सञ्चालनमा आएको विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय भवनमा दोस्रोपटक आगजनी गरिएको हो ।
नीजि कलेजलाई दिइएको सम्वन्धन र भर्ना खुल्ला गरेको भन्दै आन्दोलित विद्यार्थीहरुले विश्वविद्यालयको होस्टलमा बसेर आगजनीको योजना बनाएको प्रहरीले जनाएको छ । आगजनी गरेको आरोपमा प्रहरीले तोडफोड र आगजनीमा संलग्न भएको आरोपमा १० जनालाई पक्राउ गरेको थियो । ति मध्ये दुई जनालाई छाडिएको छ ।
