हनुमानढोका क्षेत्रको पुनःनिर्माण तीव्र

Avatar photo
Dhadingpost
कार्तिक १८, २०७५

काठमाडौं, कार्तिक १९ । हनुमानढोका दरबार क्षेत्रमा रहेको सांस्कृतिक सम्पदाको पुनःनिर्माण तीव्र रूपमा भइरहेको छ ।

यहाँ झण्डै तीन दर्जन सम्पदा छन्, जसमा भूकम्पका कारण १० सम्पदा पूर्ण रूपमा क्षति भएका थिए भने अन्यमा सामान्य क्षति पुगेको थियो ।

भूकम्पका कारण क्षति पुगेका सम्पदामध्ये हालसम्म गद्दी बैठकको पुनःनिर्माण सम्पन्न भइसकेको छ । उक्त स्थानमा सबैभन्दा महत्वपूर्ण मानिने नौतले दरबार र काष्ठमण्डप पुनःनिर्माण भइरहेका छन् भने माजु देग पुनःनिर्माणको शुभारम्भ गत सोमबार भएको छ ।

त्यसैगरी भूकम्पका कारण क्षति पुगेका अन्य सम्पदा पुनःनिर्माणको प्रक्रियामा रहेको हनुमानढोका दरबार संरक्षण कार्यक्रमका प्रमुख उदयबहादुर पसखलले जानकारी दिए ।

उनका अनुसार काष्ठमाण्डप आगामी तीन वर्षमा पुनःनिर्माण सम्पन्न हुन्छ भने माजु देग पुनःनिर्माण दुई वर्षमा सम्पन्न गरिने योजनाको साथ काम भइरहेको छ । केही सम्पदाको पुनःनिर्माण सम्पन्न भइसकेको र केही पुनःनिर्माणको अवस्थामा रहेकाले अवलोकन गर्न आउने पर्यटकको सङ्ख्यामा पनि वृद्धि भएको छ ।