उपत्यकामा दशैँको समयमा १४ जनाको मृत्यु

Avatar photo
Dhadingpost
कार्तिक ८, २०७५

काठमाडौँ, कात्तिक ८ । काठमाडौँ उपत्यकामा दशैँको समयमा भएको सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ ।

महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले तीव्र गतिमा जथाभावी सवारी साधन चलाएका कारण धेरै दुर्घटना भएको जानकारी दिए। “दशैँको समयमा सडक धेरै खाली हुने र तीव्र गतिमा सवारी हाँक्ने प्रवृत्तिले धेरै दुर्घटना हुने गरेको छ,” उनले भने।

महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारीअनुसार घटस्थापनादेखि पूर्णिमासम्म उपत्यकाका विभिन्न स्थानमा भएको दुर्घटनामा चालक तथा पैदलयात्रुको मृत्यु भएको हो।

दशैँअगाडि महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज बनाउन ‘ट्राफिक र्‍यापिड स्कोइड’ अभियानसमेत सञ्चालनमा ल्याएको थियो। अभियानले दुर्घटना भएको ५ मिनेटभित्रै घटनास्थलमा पुगेर घटनाबारेमा अध्ययन गर्नाका साथै घाइतेलाई तत्काल अस्पतालसम्म लैजान सकिने व्यवस्था गरेको थियो ।

अभियानका लागि महाशाखाले ५५ वटा मोटरसाइकलमा ट्राफिक प्रहरी र जनपथ प्रहरी परिचालन गरेको थियो। हाल देशभर झण्डै ३२ लाख हाराहारीमा सवारी साधन सञ्चालनमा भएपनि काठमाडौँ उपत्यकामा मात्र आठ लाख सवारी साधन सञ्चालनमा छन्।