यस्तो छ नेता तथा मन्त्रीहरुको दशैं योजना

Avatar photo
Dhadingpost
अशोज २९, २०७५

काठमाडौँ, असोज २९ । शीर्ष नेता तथा मन्त्रीहरूले राजधानी काठमाडौंमा नै दशैं मनाउने भएका छन् ।

सत्तारूढ दल नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले काठमाडौंमा नै दशैं मनाउने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्री ओलीले बालुवाटारमा र अध्यक्ष प्रचण्डले आफ्नै निवास खुमलटारमा दशैं मनाउने छन् । अध्यक्षद्वयले दशैंको समयमा पार्टीको सांगठनिक एकता प्रक्रियाका बारेमा गृहकार्य गरेर टुंगो लगाउने तय भएको छ । दशैंको समयभित्र नै आन्तरिक गृहकार्य गरी जिल्लादेखि विभिन्न जनसंगठनको एकता खाकासहित कात्तिक ४ गते बस्ने सचिवालयको बैठकमा पेस गराउने गरी गृहकार्य भएको सचिवालयले जनाएको छ ।

प्रधानमन्त्री ओली टीकाका दिन बालुवाटारमै रहने र परिवार तथा कार्यकर्तासँगको भेटघाट कार्यक्रम तय भएको प्रधानमन्त्रीको प्रेस संयोजक चेतन अधिकारीले बताए ।

पूर्वप्रधामन्त्री तथा नेकपाका अर्का अध्यक्ष प्रचण्डको यसपालि दशैं छैन। उहाँले काठमाडौंमै पारिवारिक तथा कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाका अनुसार खुमलटारमा नै दशैं अवधि बिताउने कार्यक्रम छ ।

त्यस्तै नेकपाको वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनालले पनि दशैं काठमाडौंमा नै मनाउँदैछन् । आफन्त र कार्यकर्तालाई टीका लगाइदिने, घरमै बस्ने र भेटघाट तथा छलफल गर्ने कार्यक्रम तय भएको छ ।

नयाँ शक्ति नेपालका संयोजक डा। बाबुराम भट्टराई दशैंका बेला पारिवारिक भेटघाटका साथै अन्य छलफलमा सहभागी हुँदैछन्। उपप्रधानमन्त्री, स्वास्थ्यमन्त्री तथा फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवको पनि काठमाडौंमा नै दशैं मनाउने कार्यक्रम रहेको छ ।

पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नै निवास बूढानीलकण्ठमा दशैँ मनाउने कार्यक्रम रहेको रहेको छ ।

काठमाडौंबाहिर कार्यक्रम नरहेकाले देउवाले घरमै आफन्त तथा कार्यकर्तालाई टीका लगाइदिने कार्यक्रम बनाएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए ।