धादिङ, असोज २५ । बडादसैँको दोस्रो दिन बिहीबार भगवती दुर्गाको दोस्रो स्वरूप ब्रह्मचारिणीको आराधना गरिँदैछ।
नवरात्रमा प्रत्येक दिन भगवती दुर्गाका एक–एक स्वरूपको आराधना परम्परा छ ।
काठमाडौंको गुह्येश्वरी, संकटा, शोभा भगवती, मैतीदेवी, नक्साल भगवती, सिन्धुपाल्चोकको पाल्चोकभगवती,ललितपुरको बंगलामुखी काभ्रेको पलाञ्चोक भगवती, बाँकेको वागेश्वरी, गोरखाको मनकामनालगायत शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ ।
तपस्यामा लीन हुने भएकाले यिनलाई दुर्गाको दोस्रो स्वरूपलाई ब्रह्मचारिणी भनिएको हो । कमलको आसनमा बसेकी ब्रह्मचारिणीको दाहिने हातमा अक्षमाला र बायाँ हातमा कमण्डलु छ। ब्रह्मचारिणी शान्त र मग्न भएर तपमा लीन भइरहेकी हुन्छिन्। कठोर तपस्याका कारण यिनको मुहार तेजयुक्त छ ।
आरोग्य र शान्ति प्राप्तिका लागि यिनको आराधना गरिन्छ । नवरात्रका समयमा जमरा राखिएका दशैंघर तथा शक्तिपीठमा पुगेर देवीको आराधना गर्ने चलन छ ।
