६३ औँ प्रहरी दिवस मनाउँदै

Avatar photo
Dhadingpost
अशोज २५, २०७५

काठमाडौं, असोज २५ । नेपाल प्रहरीले बिहीबार विशेष समारोहको आयोजना गरी ६३ औं प्रहरी दिवस मनाउँदैछ ।

प्रहरी ऐन, २०१२ मा लालमोहर लगाइएको दिनको स्मरणमा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ ।

दिवसको अवसरमा प्रहरी प्रधान कार्यालयले विशेष समारोहको आयोजना गरेको छ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुँदैछन् ।

बिहान ७ बजेदेखि सुरु हुने कार्यक्रममा १३ वटा विधाका उत्कृष्ट व्यक्तित्वहरुलाई पनि पुरस्कृत गरिँदैछ । केन्द्रीय प्रहरी प्रवक्ता शैलेश थापा क्षेत्रीले अनलाइनखबरलाई दिएको जानकारी अनुसार सिभिलियनतर्फ प्रहरीलाई सहयोग गर्ने दाता र साहित्यकार एवं लेखकलाई पनि पुरस्कृत गरिनेछ ।

‘संगठनभित्रबाट सर्वोत्कृष्ट ट्राफिक प्राविधिक, व्यवस्थापक, प्रशिक्षक, खेलाडी, अनुसन्धानकर्ता, आन्तरिक तथा बाह्य प्रशिक्षक, दैविक प्रकोप उद्धारक, उत्कृष्ट सामदायिक प्रहरी लगायत सम्मानित हुनेछन्’, उनले अनलाइनखबरसँग भने, ‘यही अवसरमा योगेन्द्र स्मृति सहासिक पुरस्कार पनि प्रदान गरिनेछ ।

उनका अनुसार समारोहमा प्रहरीका उच्च अधिकारीहरुदेखि लिएर विभिन्न क्षेत्रका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुको पनि उल्लेख्य सहभागिता रहनेछ ।

सोही अवसरमा पूर्वउच्च प्रहरी अधिकारीहरुबीच पनि पुनर्मिलन कार्यक्रम राखिएको छ । ‘पूर्वप्रहरी महानिरीक्षकहरुदेखि अन्य उच्च अधिकारीहरुसँग भेटघाट र छलफलसहितको अन्तरक्रियात्मक कार्यक्रम पनि राखिएको छ’, क्षेत्रीले थपे, ‘त्यसअघि श्रद्धाञ्जली व्यक्त गर्ने कार्यक्रम छ । जहाँ प्रधानमन्त्रीज्यू पनि सरिक हुनुहुनेछ ।

तीन दिनसम्म जारी रहने यो दिवस बुधबारबाट मनाउन सुरु गरिएको भए पनि बिहीबारलाई मुख्य दिन मानिन्छ । दिवसको अवसरमा ३ दिनै विभिन्न प्रहरी कार्यालयले हरेक साँझ दिपावली पनि गरिरहेका छन् ।

त्यसैगरी नेपाली सेनाले पनि आज दशैंको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम राखेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको प्रमुख आतिथ्यमा कार्यक्रम हुन लागेको हो ।

दिवसको अवसरमा विभिन्न जिल्लाका प्रहरी कार्यालयले पनि विविध कार्यक्रम आयोजना गरेका छन् । रक्तदानदेखि सरसरफाइ कार्यक्रमसम्म गरेर यो दिवस भव्यताका साथ मनाइने प्रहरी प्रधान कार्यालयले जनाएको छ ।