झापा, असोज २५ । मेचीनगरस्थित काँकरभिट्टाबाट प्रहरीले हतियार, विस्फोटक पदार्थ र लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मेचीगर–६ का ३८ वर्षीय विशाल लिम्बू र सोही स्थानका अनुप उराउलाई काकँरभिट्टा इलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक जीतेन्द्रकुमार बस्नेतले बताए ।
आर्मी कलरको कम्ब्याट दुई थान, सङ्घीय लिम्बूवान राज्यपरिषद् लेखिएको सम्मानपत्र, प्रशिक्षण कदरपत्र, सोही परिषद्को आर्थिक सहयोग सम्बन्धमा लेखिएको पत्र, विभिन्न प्रकारका स्ट्याम्प छाप, प्याड, पञ्चिङ मेसिनलगायतका कागजात, बाला सुब्बा, सीताराम आङ्देम्बे नामबाट बनाएको दुई थान नागरिकता, दलबहादुर थापा, बाला सुब्बा र बुद्धमान लिम्बूको नामको सवारी चालक अनुमतिपत्र र दुई थान मोबाइल फोनलगायत अन्य सामग्री लिम्बूको घरबाट बरामद गरिएको उनले जानकारी दिए ।
नियन्त्रणमा लिएकामध्ये लिम्बूमाथि शंका लागेपछि उनको घरमा जाँच गर्दा हतियार, विस्फोटक पदार्थसहित अन्य सामग्री फेला पर्यो ।
