स्थायी समितिको बैठक बोलाउने नेकपाको निर्णय

Avatar photo
Dhadingpost
अशोज २२, २०७५

काठमाडौं, असोज २२ । नेपाल कम्युनिष्ट पार्टी (ने. क. पा.) को सचिवालय बैठकले स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको छ ।

यसका लागि घटस्थापनाको दिन २४ गते अर्को सचिवालय बैठक बस्ने र त्यहि बैठकले स्थायी समितिको बैठक र कार्यसूची निर्धारण गर्ने निर्णय सोमबारको बैठकले गरेको छ ।

बैठकमा नेताहरूले आफ्नो विदेश भ्रमणबारे ‘ब्रिफिङ’ गरेका थिए । नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा आफ्नो संयुक्त राष्ट्रसंघको महासभा बैठक र कोष्टारिका भ्रमणबारे जानकारी गराएका थिए ।

बैठकमा पार्टी विवादबारे छलफल गर्ने अनुमान गरिएपनि नेताहरुको विदेश भ्रमणको ‘ब्रिफिङ’ मै सकिएको हो ।

बैठकले प्रदेश कमिटीको गठन, जिल्ला कमिटी गठन, स्थायी समितिको मिति, पार्टी र सरकार सञ्चालन प्रभावकारी बनाउने लगायतका अर्को बैठकको एजेण्डा पनि तय गरेको छ ।

त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले पनि भारत र चीन भ्रमणबारे ‘ब्रिफिङ’ गरेको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । बैठकमा बरिष्ठ नेता माधवकुमार नेपालले अफ्रिकी मुलुक घाना र चीन भ्रमणबारे जानकारी गराएको श्रेष्ठले बताए । श्रेष्ठले भने आफ्नो चीन भ्रमणबारे बैठकमा ‘ब्रिफिङ’ गरेका थिए । श्रेष्ठ १५ सदस्यीय टोलीको नेतृत्व गर्दै चीन भ्रमणमा गएका थिए ।