नेकपा सचिवालय बैठक आज बस्दै

Avatar photo
Dhadingpost
अशोज २१, २०७५

काठमाडौं, असोज २१ । पार्टीको आन्तरिक एकता र सरकारको कामलाई लिएर तीव्र असन्तुष्टि भइरहेको नेपाल कम्युनिस्ट पार्टीको सचिवालय बैठक आज ‘आइतबार’ बस्दैछ ।

प्रदेश पदाधिकारीको चयन तथा सरकारका कामबारे नेता माधवकुमार नेपालले दुई अध्यक्ष देश बाहिर भएका बेला संसद् तथा स्थायी समितिको भेला बोलाएर असन्तुष्टि व्यक्त गरेपछि नेकपाभित्र विवाद चुलिएको थियो।

अमेरिका तथा सिंगापुर भ्रमणबाट फर्किएलगत्तै अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले आजका लागि सचिवालय बैठक बोलाएका हुन् । बैठकमा पार्टीभित्र देखिएका असन्तुष्टि र तल्लोतहका समितिको एकताका विषयमा छलफल हुने जनाइएको छ ।

नेकपाका अध्यक्ष दाहालले शनिबार एक कार्यक्रममा बोल्दै सचिवालय बैठकले पार्टीभित्र देखिएका विवाद समाधानका लागि पहल गर्ने बताएका छन् ।

शनिबार दशैको शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै दाहालले विवादका विषयमा सचिवालयमार्फत समाधान खोजिने जनाएका हुन् ।

नेकपाभित्र पार्टीका तल्ला तहका समितिमा एकता हुँदा जिम्मेवारी कसले लिने भन्ने विषयमा पूर्व दुई समूह तथा ती समूहमा समेत आन्तरिक प्रतिस्पर्धाले तीन महिनाभित्र हुने भनेको एकता लम्बिँदै गएको छ ।

आज बस्ने सचिवालय बैठकले पार्टीभित्र बढिरहेका असन्तुष्टि र पार्टी एकताका विषयमा महत्वपूर्ण निर्णय गर्ने नेकपाका नेताहरूले बताएका छन् ।