काठमाडौं, असोज २१ । महानगरीय प्रहरी वत्त, बौद्धका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) श्यामकुमार राईलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले घुससहित रंगेहात पक्राउ परेका छन् ।
सेवाग्राहीसँग घुस लिँदालिँदै उनलाई पक्राउ गरिएको आयोगका सहसचिव रामेश्वर दंगालले पुष्टि गरे । यद्यपि, कति रकमसहित पक्राउ गरिएको हो भन्ने बारेमा विवरण आइनसकेको उनले बताए ।
प्रहरी अधिकारीहरूले पटकपटक उनलार्इ सुध्रिन चेतावनी दिएको भए पनि उनले रकम असुली छाडेका थिएनन् । अन्ततः उनी अख्तियारको फन्दामा परेका छन् ।
गएराति पनि मुलपानीमा उनको संरक्षणमा चल्दै आएको जुवा अखडामा काठमाडौं प्रहरी परिसरको टोलीले छापा मारेको थियो । त्यसक्रममा भागदौड मच्चिँदा दुई जनाको मृत्यु समेत भएको थियो ।
उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको आडमा रार्इलार्इ कुनै कारबाही हुन सकेको थिएन ।
