काठमाडौ, असोज १९ । प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष ओलीलाई भेट्न केहीबेरमै प्रचण्ड बालुवाटारस्थित प्रधानमन्त्री निवास जाँदैछन् ।
झण्डै दुई हप्तापछि नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल (प्रचण्ड) बीच आज भेटघाट हुने भएको छ ।
संयुक्त राष्ट्रसंघीय महासभामा नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री ओली ६ असोजमा न्यूयोर्क प्रस्थान गरेयता ओली प्रचण्डबीच भेट भएको छैन ।
ओली विहीबारमात्र न्यूयोर्कका अलावा दक्षिण अमेरिकी राष्ट्र कोष्टारिकाको समेत भ्रमण सकेर स्वदेश फर्केका छन् ।
अध्यक्ष प्रचण्डपनि यसबीचमा पत्नी सीता दाहालको उपचारका लागि सिँगापुर पुगेर १५ असोजमा काठमाडौँ फर्केका छन् ।
आजको भेटमा पार्टी एकता र नेकपा बरिष्ठ नेता माधव नेपालको असन्तुष्टि र सरकारको काम कार्वाही लगायतका विषयमा छलफल हुनेछ ।
ओली र प्रचण्ड स्वदेशमा नभएका बेला बरिष्ठ नेता नेपालले संसदमा सरकारप्रति असन्तुष्टिमात्र प्रकट गरेका थिएनन्, स्थायी समितिका सदस्यहरुको भेला गरेर पार्टी नेतृत्वप्रति असन्तुष्टि पोखेका थिए ।
उनको असन्तुष्टि ५ असोजको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णयप्रति थियो। सो बैठकले प्रदेश नेतृत्वको चयन गरेको थियो ।
५ असोजको सो बैठक घानामा रहेका नेता नेपाल र चीनमा रहेका पार्टी प्रबक्ता नारायणकाजी श्रेष्ठको अनुपस्थितिमा भएको थियो ।
आजको बैठकमा मूलत नेता नेपालको असन्तुष्टि र पार्टी एकताका बिषयमा केन्द्रित हुनेछ ।
त्यसबाहेक आजको बैठकमा सरकारको काम कार्वाहीप्रति पनि छलफल हुनेछ । सत्तारुढ दलका नेताहरु नै सरकारको काम कार्वाहीप्रति सन्तुष्ट छैनन् ।
नेकपा स्रोतका भनाईमा, ओली-प्रचण्डबीचको आजको बैठकले केन्द्रीय सचिवालय र स्थायी समितिको बैठकको मिति तोक्न सक्ने सम्भावना छ ।
५ असोजको केन्द्रीय सचिवालय बैठकले प्रदेश ईञ्चार्ज, सहईञ्चार्ज, अध्यक्ष र सचिवको चयन गरेपनि विभिन्न विभाग, आयोग, जनबर्गीय संगठन र मोर्चाको एकता टुङ्ग्याउन सकेको छैन ।
अझ ५ असोजको बैठकप्रति बरिष्ठ नेता नेपालको असन्तुष्टिका कारण सो निर्णयले निरन्तरता पाउला कि नपाउला भन्ने आशंका सिर्जना भएको छ ।
