सुन खरिदमा नयाँ नियम, १० किलोमाथि किन्‍न गभर्नरको स्वीकृति

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

काठमाडौं, असोज १८ । नेपाल राष्ट्र बैंकले १० किलोग्रामभन्दा धेरै सुन र ८० किलोभन्दा धेरै चाँदी खरिद गर्नु परे गभर्नरबाट स्वीकृत लिनुपर्ने व्यवस्था गरेको छ ।

१० किलोसम्म सुन र ८० किलोसम्म चाँदी खरिदका लागि भने डेपुटी गभर्नरबाट स्वीकृत गराउनुपर्नेछ । राष्ट्र बैंकले यस्तो व्यवस्थासहितको सुनचाँदी तथा अन्य धातु खरिद, टकमरी र बिक्रीसम्बन्धी कार्यविधि पारित गरेको छ । ५ किलो सुन र ५० किलो चाँदी खरिद गर्न भने मुद्रा व्यवस्थापन विभागबाट सोझै स्वीकृत लिन सकिने व्यवस्था कार्यविधिले गरेको छ । नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा ११० को उपदफा ९३० ले दिएको अधिकार प्रयोग गरी कार्यविधि बनाइएको हो ।

कार्यविधि बमोजिमको काम कारबाहीका लागि आवश्यक सुनचाँदी तथा अन्य धातु प्रचलित ऐन तथा विनियमावलीमा तोकिए बमोजिमको प्रक्रिया अवलम्बन गरी स्वदेशी तथा अन्तर्राष्ट्रिय बजारबाट खरिद गर्न सकिनेछ । यसरी खरिद गरिने सुन तथा चाँदीको गुणस्तर ९९९–९ टचको हुनुपर्नेछ । सरकारी निकायबाट अनुरोध भई आएको अवस्थामा नेपाल सरकारबाट समेत सुनचाँदी खरिद गर्न सकिनेछ ।

सरकारबाट सुनचाँदी खरिद गर्दा आन्तरिक लेखा परीक्षण विभाग, वित्त व्यवस्थापन विभाग र नेपाल सरकारको सम्बन्धित कार्यालयका प्रतिनिधिको रोहवरमा गलान गरी आस्से परीक्षणबाट हुन आएको गुणस्तरका आधारमा उक्त दिनको अन्तर्राष्ट्रिय बजार मूल्यका आधारमा सुनचाँदीको मूल्य निर्धारण गर्नुपर्नेछ ।

यस्तै नेपालको पर्यटन प्रवद्र्धन गर्न कुनै विशेष स्थान वा चाडपर्वसँग सम्बन्धित विषयवस्तु अंकित मेडालियन टकमरी बिक्री गर्न सकिनेछ । प्राकृतिक सम्पदा, मठमन्दिर, देवीदेवता, पशुपंक्षी, ऐतिहासिक तथा साँस्कृतिक धरोहरको विषय वस्तु अंकित यस्ता मेडालियन टकमरी बिक्री गर्न सकिने भए पनि यसको मूल्य भने खुलाउन पाइनै छैन ।

असर्फी टकमरीका लागि भने राष्ट्र बैंकले नेपाल सुनचाँदी व्यवसायी महासंघद्वारा प्रकाशित सुनको स्थानीय बजार मूल्य र विदेशी विनिमय व्यवस्थापन विभागबाट उपलब्ध हुने भारतीय बजारको अघिल्लो कारोबार दिनको अन्तिम मूल्यबीचको औसत मूल्यमा गणना गर्नुपर्नेछ । यस्तो औसत मूल्य बजार मूल्यभन्दा कम हुन गएका बजार मूल्यलाई आधार मूल्यका रूपमा र औसत मूल्य बढी भएमा सोही औसत मूल्यलाई आधार मूल्यमा लिएर बिक्री गर्नुपर्ने व्यवस्था कार्यविधिले गरेको छ ।

नेपालको आर्थिक, सामाजिक वा सांस्कृतिक क्षेत्रमा क्रियाशील रही योगदान पुर्‍याउँदै आएको कुनै कम्पनी, संघसंस्थाको कुनै विशेष दिन, वर्ष, अवसर, कार्यक्रम वा उपलब्धिसँग सम्बन्धित विषयवस्तु अंकित भई स्मारिका सिक्का एकपटक निश्चित संख्यामा टकमरी गरे पश्चात् सोही स्मारिका सिक्का पुनः टकमरी नगरिने कार्यविधिमा उल्लेख छ ।

टकमरी गरिएको स्मारिका सिक्का बिक्री नभई बाँकी रहेको अवस्थामा त्यस्तो स्मारिका सिक्काको टकमरी गरिएको मितिले १० वर्षमा पुनर्मूल्यांकन गरी नयाँ बिक्री मूल्य कायम गर्नुपर्नेछ । सिक्कामा प्रयोग गरिएको धातु बजार मूल्य प्रतिग्राम २० रुपैयाँभन्दा कम भएको अवस्थामा बढीमा १५ दिनसम्म बिक्री गर्नुपर्नेछ । १५ दिन नपुग्दै सो वा सोभन्दा बढी मूल्य कायम हुन आएमा बिक्री गर्न सकिनेछ ।