कोरीया जान अनिवार्य मनसामाजीक परामर्श

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

काठमाडौं, असोज १८ । रोजगारीका लागि दक्षिण कोरिया जाने युवायुवतीले आत्महत्या गर्ने क्रम बढेपछि अब त्यहाँ रोजगारीमा जानु अघि मनोसामाजिक परामर्श दिइने भएको छ ।

काम गर्न गएका युवायुवतीले धमाधम आत्महत्या गर्ने क्रम बढ्दा कोरियन सरकारले अन्तर्राष्ट्रिय स्तरमा आफ्नो बेइज्जत भएको भन्दै नेपाललाई आत्महत्या रोक्ने कार्यक्रम सञ्चालन गर्न दबाब दिन थालेपछि अनिवार्य मनोसामाजिक परामर्शको व्यवस्था गरिन थालेको हो ।

हरेक दुई÷दुई वर्षमा नेपाल र कोरियाबीच हुने गरेको श्रम सम्झौताको नवीकरणको मौका पारेर अबको सम्झौताका सर्तमा मनोसामाजिक परामर्शको प्रावधान राख्ने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ ।

आत्महत्या रोक्नका लागि कोरियन अधिकारी नै विभिन्न प्रयासमा रहेकाले मन्त्रालयले गरेको प्रस्तावमा सहमति जुट्ने अपेक्षा गरिएको छ । पारिश्रमिकको दृष्टिकोणले आकर्षण मानिएको कोरियामा नेपालीले आत्महत्या गर्ने क्रम नरोकिएपछि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गइरहेको छ । आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरिया रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्मका अनुमान गर्न थालिएका बेला मन्त्रालयले मनोसामाजिक परामर्शको प्रस्ताव गरेको हो ।

सन् २००७ यता कोरिया गएकामध्ये एक सय ५० जनाको निधन हुँदा ४० जनाले आत्महत्या गरेको जनाएको छ । आत्महत्या गर्नेमा अधिकांश २२ देखि २८ वर्षका युवायुवती रहेको पाइएको छ । रोजगार अनुमति प्रणाली (इपिएस) सुरु भएयता (सन् २००७ देखि ) मात्र कोरियामा ज्यान गुमाउने र आत्महत्या गर्ने नेपालीको विवरण राख्न थालिएको हो । इपिएस सुरु भएदेखि हालसम्म कोरियामा ५४ हजार चार सय नेपाली कामका लागि पुगेका छन् ।

कामदार मैत्री श्रम ऐन तथा आर्थिक अवस्था राम्रो रहेकाले हाल कोरियामा प्रतिव्यक्ति मासिक न्यूनतम पारिश्रमिक एक लाख ४२ हजार रुपैयाँ रहेको खतिवडाले जनाए । ओभरटाइम र कम्पनीले बेला बेला दिइरहने बोनसका कारण अधिकांश कामदारले महिनामा दुई लाख रुपैयाँका हाराहारीमा कमाइ गर्ने गरेको कोरियाबाट फर्केकाहरू बताउँछन् । मनोसामाजिक परामर्श दिन थालेपछि कोरियाको आत्महत्या दरमा कमी आउन सक्ने अधिकारीहरूले अपेक्षा गरेका छन् ।