ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु

Avatar photo
Dhadingpost
अशोज १८, २०७५

सिन्धुली, असोज १८ । सिन्धुलीको कमलामाई नगरपालिका–२ केराबारीमा ट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ भने एकजना गम्भिर घाईते भएका छन् ।

मृत्यु हुनेमा ट्रक चालक सप्तरीका ३२ वर्षीय लोकबहादुर मगर छन् । उनको उपचारको क्रममा जिल्ला अस्पताल सिन्धुलीमा आज बिहान सवा १ बजे मृत्यु भएको हो ।

ट्रकमा सवार अन्दाजी २६ वर्षीय ब्यक्तिको घटनास्थलमा नै मृत्यु भएको हो । मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सोही दुर्घटनामा ट्रकमा सवार सप्तरीका १७ वर्षीय लक्ष्मण परियार घाईते भएका छन् । उनको जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ ।

राति सवा १२ बजे बा २ क २२९७ नम्बरको ट्रक सडकबाट अन्दाजी ३० मिटर तल खसेको हो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

यता, काठमाडौंको सुन्धारामा गएराति टिपरको ठक्करबाट मोटरसाईकलमा सवार २ जना घाइते भएका छन् ।

धादिङ निलकण्ठ नगरपालिका–७ घर भई काठमाडौं बसुन्धारा बस्ने सरोज परियार र चिरन्जिवी नेपाली दुर्घटनामा घाइते भएका हुन् । घाइते दुवैको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

गएराति सवा ११ बजे बा५ख २७८६ नम्बरको टिपरले बा४९प ३७७६ नम्बरको मोटरसाईकललाई ठक्कर दिएको थियो । टिपर चालकलाई महानगरीय प्रहरी वृत्त जनसेवाले नियन्त्रणमा लिएको छ ।

घाइतेमध्ये चिरन्जिवीको अवस्था भने गम्भिर रहेको अस्पताल श्रोतले जनाएको छ ।