काठमाडौं, असोज १८ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल एयरलाइन्सको वाइडबडी विमान खरिदको अनियमितता छानविन सुरु गरेको छ ।
वाइडबडी जहाज खरिदमा भएको अनियमितामाथि छानविन सुरु गरिसक्यौँ,’ प्रतिनिधिसभा राज्य व्यवस्था समितिको बैठकमा बुधवार अख्तियारका प्रमुख आयुक्त नवीनकुमार घिमिरेले भने, ‘भ्रष्टाचारमा संलग्न जो–कोहीलार्ई कारवाहीको दायरामा ल्याउँछौं ।
अख्तियारले जननिर्वाचित पदाधिकारी ठेक्कापट्टामा लाग्दा स्थानीय तहमा व्यापक भ्रष्टाचार बढेको भन्दै संसदको ध्यानाकर्षण गराएको छ। स्थानीय तहका पदाधिकारी आर्फैले एक्जाभेटर किन्ने, मनलाग्दी भाडा असुल्ने र आफै ठेक्कापट्टामा संलग्न हुने प्रवत्ति बढेका कारण त्यहाँका उजुरीका चाङ्ग लागेको अख्तियारको भनाई छ ।
एयरलाइन्सले दुइटा वाइडबडी विमान उत्पादक कम्पनीसँग नकिनी बिचौलियासँग करिब २४ अर्ब रुपैयाँमा किनेको थियो । त्यसमा बिचौलियाका नाटकीय कम्पनी खोलिएका थिए । त्यसको म्याक्सिमम टेक–अफ वेट (एमटीओडब्लु) समेत सम्झौताभन्दा कम ल्याएको थियो । त्यसमा अन्नपूर्ण पोस्ट्ले अनुसन्धानमूलक शृंखलाबद्ध सामग्री प्रकाशन गर्दै आएको छ ।
अख्तियारले खरिदाररसुब्बालाई मात्र भ्रष्टाचारमा समात्ने गरेको र ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिइरहेको सांसदहरुले असन्तुष्टि जनाएका थिए। जवाफमा प्रमुख आयुक्त घिमिरेले २ रुपैया भ्रष्टचार गर्ने र करोडौ भ्रष्टाचार गर्ने जो कोही पनि कारवाहीमा पर्ने बताए । ‘सरकारी कार्यालयमा जांदा कछाडको छेउमा राखेको १० रुपैयाँ पनि घुस माग्ने र करोडौ घुस खाने उस्तै हुन,’ घिमिरेले भने, ‘कछाडको १० रुपैया पनि घुस माग्नु बढी सम्वेदनशिल हो ।
‘१ हजार किलोमिटर पाइप किन्ने निर्णय पनि नितिगत भन्दै मन्त्रिपरिषदबाट गर्न थालियो,’ घिमिरेले असन्तुष्टि जनाए । अख्तियारमा अर्बौ भ्रष्टाचारका उजुरी परेपनि गत आर्थिक वर्षमा भने ४० करोड मात्रको छानविन भएको थियो । ‘अख्तियारले दायर गर्ने ८० प्रतिशत मुद्धा सफल हुने गरि काम गर्छु,’ प्रमुख आयुक्त घिमिरले भने,‘अव गोप्य रुपमा छानविन गर्छौ र कमजोरी भेटिए मात्र विवरण भराइन्छ।’ विगतमा तर्साउनलाई १३ पन्ने विवरण भराउने गरिएको भन्दै सांसदहरुले असन्तुष्टि जनाएका थिए। अख्तियार प्रमुख घिमिरेले १३ पन्नेको सट्टा १४ पन्ने बनाइएको र अब त्यसको दुरुपयोग नहुने प्रतिवद्धता जनाए ।
बैठकमा कांग्रेसका सांसद अमरेस सिंहले आयल निगमको जग्गा खरिदमा भएको अनियमितताबारे छानविन नगरेको भन्दै असन्तुष्टि जनाएका थिए । नेकपाका सांसद जनार्दन शर्माले आयोगले स्वतन्तापुर्वक काम नगरेको भन्दै असन्तुष्टि जनाए । नेकपाका सांसद नवराज सिलवालले अख्तियारले काम गर्ने भन्दा पनि तर्साउने मात्र गरेको भन्दै असन्तुष्टि जनाए । उनले अख्तियार देखाएर काम नगर्ने प्रचलनलाई कसरी सुधार गर्ने भनी प्रश्न पनि गरे । कांग्रेसका सांसद विनोद चौधरीले अख्तियार देखाएर काम नगर्नेविरुद्ध कहाँ उजुरी गर्ने भनी प्रश्न गरे ।
अख्तियारमा पर्ने उजुरीको मनसायमाथि पनि छानबिन हुनुपर्ने चौधरीले बताए। संघीय समाजवादीका रामसहाय यादवले अख्तियारको संरचना प्रदेशमा पनि लैजानुपर्ने बताए । कांग्रेसका देवेन्द्रराज कंडेलले खरिदार सुब्बालाई मात्र समातेर अख्तियारले ठूला भ्रष्टाचारीलाई उन्मुक्ति दिएको आरोप लगाए । कांग्रेसका दीलेन्द्र बडुले अख्तियारलाई बलियो बनाउन लोकसेवाले अख्तियार सेवा भन्दै कर्मचारी भर्ना गर्नुपर्ने सुझाए । स्वतन्त्र सांसद वृजेश गुप्ताले खरिदार र सुब्बालाई मात्र समातेर भ्रष्टाचार अन्त्य नहुने भन्दै ठुलालाई पनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए ।
