वीरगञ्ज, असोज १७ । प्रहरीले लागु औषध कारबोरमा संलग्न ४ जनालाई वीरगञ्जबाट पक्राउ गरेको छ ।
लागु औषध कारबोरमा संलग्न ३ र फरार अर्का १ अभियुक्तलाई पर्सा प्रहरीले महानगरापलिकाका विभिन्न क्षेत्रबाट नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका–३ का सञ्जय श्रेष्ठ, गोदावरी नगरपालिका–१, ललितपुरका सिद्धार्थ सुवेदी, किशोर थापा मगर र पटेर्वासुगौली गाउँपालिका–१ का भरत सहनी मलाह छन् ।
तीन जनाको साथबाट लागु औषध बरामद भएको र एक जना फरार अभियुक्त रहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
श्रेष्ठलाई वीरगञ्ज महानगरपालिका वडा नं १६, इनर्वा गाँउबाट लागु औषध इन्जेक्सन ९५ पिस सहित पक्राउ गरिएको थियो । अस्थायी प्रहरी पोष्ट, इनर्वा गाँउबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा श्रेष्ठको साथबाट प्रतिबन्धित लागु औषध फेनार्गन ३० पिस, नुफिन ३३ पिस र डाईजोल्याब ३२ पिस बरामद गरेको प्रहरीले जनाएको छ ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका–१६ भन्सार मूल गेट अगाडिबाट पक्राउ परेका सिद्धार्थ र किशोरको साथबाट प्रहरीले डाइजोल्याब १२ पिस , नुर्फिन १२ पिस र फेनार्गन १२ पिस बरामद गरेको छ ।
उनीहरु तीनै जनालाई लागु औषध मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाउने तयारी प्रहरीले गरेको छ ।
चोरी मुद्दामा दोषी ठहर भई फरार पटेर्वासुगौली गाउँपालिका–१ बस्ने भरत सहनी मलाहलाई ५ वर्षपछि पक्राउ गर्न प्रहरी सफल भएको छ । ०७० जेठ १० गते पर्सा जिल्ला अदालतले चोरी मुद्दामा दोषी ठहर गर्दै ६ महिनाको कैद सुनाएपछि मलाह फरार थिए ।
