तेजाबपीडित वसन्ती परियारको अवस्था खतरामुक्त

Avatar photo
Dhadingpost
अशोज १५, २०७५

चितवन, असोज १५ । तेजाप छर्कि धारिलो हतियार प्रहारबाट गम्भीर घाइते भएका २७ वर्षीया वसन्ती परियारको अवस्था खतरामुक्त भएको छ ।

गत सोमबार साँझ कावासोती नगरपालिका वडा नं १६ डण्डा बजारकी २७ वर्षीया परियारलाई छिमेकी युवकले तेजाब छर्किएर धारितो हतियार प्रहार गरेका थिए ।

घाइतेको शनिबार भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतसहितको टोलीले भेट गरी आवश्यक सहयोग गर्ने आश्वासन दिएका थिए । परियारको पेटमा हतियारले काटेर आन्द्रा बाहिर निस्किएको थियो। छातीमा करङ छेडिएको थियो। दुवैतिरको गाला र टाउकामा गम्भीर चोट लागेको थियो। चिकित्सक समूहले पेट, छाती, दुवै गाला र टाउकामा शल्यक्रिया गरेको छ ।

परियारको अनुहार घाँटी, छाती र दुवै हातमा तेजाबले पोलेको छ। प्रधानका अनुसार एउटा आँखामा गम्भीर असर देखिन्छ भने अर्को सामान्य अवस्थामा छ । अस्पतालले आँखाको चिकित्सक झिकाएर परीक्षणसमेत गराएको छ । परियार तरकारी किनेर घर फर्कने क्रममा छिमेकी ३७ वर्षीय विमल सिर्पालीले तेजाप छर्किएका हुन् ।

गम्भीर परियारको भरतपुर अस्पतालमा सोही राति शल्यक्रिया गरिएको थियो । अस्पतालका वरिष्ठ सर्जन डा सुरेश प्रधानले परियारको अवस्था खतरामुक्त भएको बताए । शुरुमा उनलाई अस्पतालको अतिसघन कक्षमा राखेर उपचार राखिएकामा अहिले सघन उपचार कक्षमा सामान्य अवस्थामा राखिएको छ । प्रधानका अनुसार शल्यक्रिया गर्दा पेटमा राखिएको फोहर फाल्ने पाइप आइतबार झिकिएको छ । परियारलाई थप सङ्क्रमणबाट जोगाउन सघन कक्षमा राखिएको प्रधानले बताए ।

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा.कृष्ण पौडेलले परियारको अवस्था सुधार हुँदै गएको भन्दै तेजाबले पोलेको ठाउँमा परीक्षणका लागि प्लाष्टिक सर्जनलाई झिकाइएको बताए। घाइतेको परिवारले थप उपचारका लागि काठमाडौँ लैजाने बताइरहेको भए पनि यहीँ उपचार हुने भएकाले हतार नगर्न आग्रह गरिएको उनले जानकारी दिए ।