बयालीस हजारको स्वास्थ्य बीमा

Avatar photo
Dhadingpost
अशोज १४, २०७५

दमौली, असोज १४ । सरकारले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत तनहुँका १० हजार २९६ परिवारका ४२ हजार १३० जनाको बीमा गरिएको छ ।

गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपयोगमा सुधार ल्याई सामाजिक स्वास्थ्य बीमाको आधारमा सबैका लागि स्वास्थ्य सेवा सुनिश्चित गर्ने उद्देश्यसहित सञ्चालन भएको सो कार्यक्रमअन्तर्गत उनीहरुको स्वास्थ्य बीमा गरिएको बीमा अधिकृत नवराज भट्टराईले जानकारी दिए । बाइस हजार ७७९ महिला र १९ हजार ३५१ पुरुषको बीमा गरिएको हो ।

जिल्लाभर बिमा दर्ताका लागि ९८ अभिकर्ता खटाएका छौँ,’ अधिकृत भट्टराईले भने । जिल्लामा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र बेलचौतारास्थित जिपी कोइराला श्वासप्रश्वास उपचार केन्द्रबाट स्वास्थ्य बीमा सेवा लिन सकिन्छ ।

एघार हजार ८२० जनाले मात्र सेवा उपभोग गरेका छन्,’ उनले भने । जिल्लाका १० स्थानीय तहमध्ये सबैभन्दा बढी शुक्लागण्डकी नगरपालिकामा दुई हजार ४९९ घरपरिवारका १० हजार ६६० जनाको स्वास्थ्य बिमा गरिएको छ । सबैभन्दा कम ऋषिङ गाउँपालिकाका तीन सय तीन परिवारका एक हजार सय २३ जनाले बिमा गरेका छन् ।

ब्यास नगरपालिकाका एक हजार ८१२ परिवारका सात हजार १८८, भिमाद नगरपालिकाका एक हजार ९७१ परिवारका सात हजार ५२५, आँबुखैरेनी गाउँपालिकाका ४५४ घरपरिवारका एक हजार ८९४, बन्दीपुरका ५२६ घरका दुई हजार १३१, भानुका ८०२ परिवारका दुई हजार ८९८, देवघाटको ५९२ परिवारका दुई हजार ६९८, घिरिङ गाउँपालिकाका ४१७ परिवारका एक हजार ८७२ तथा म्याग्देका ६२४ परिवारका दुई हजार ६६२ सदस्यले स्वास्थ्य बिमा गराएको कार्यालयले जनाएको छ ।