खादा निषेध गर्ने वडाको निर्णय विवादमा

Avatar photo
Dhadingpost
अशोज १४, २०७५

सिन्धुपाल्चोक,असोज १४ । जिल्लाको सुनकोसी गााउँपालिका–१, ले सार्वजनिक कार्यक्रमहरुमा स्वागतका लागि प्रयोग गरीने खादालाई हटाउन गरेको निर्णय विवादमा परेको छ ।

सार्वजनिक कार्यक्रममा आयतीत खादालगायतलाई निषेध गर्दै स्थानीय सामग्रीको प्रयोग गर्ने वडाको निर्णयपछि बौद्ध धर्मलम्बीहरुले त्यसको चर्को विरोध गरेका हुन् ।

गाउँपालिकाको १ नम्बर वडाले कात्तिक १ देखि वडाभित्र गरिने कुनै पनि सार्वजनिक कार्यक्रममहरुमा खादा प्रयोग गर्न नपाउँने गरी निषेध गरेको थियो । वडाको यस्तो निर्णयसँगै बौद्ध धर्ममाथि प्रहार भएको भन्दै जिल्लाभित्र र जिल्ला बाहिरबाट समेत चर्को विरोध भएको थियो ।

सार्वजनिक कार्यक्रमहरुलाई छिटो,छरितो र मितव्ययी बनाउनका लागि धार्मिकबाहेक अरु कार्यक्रमहरुमा मात्रै खादालाई निषेध गरिएको वडाध्यक्ष नेत्र कार्कीले बताए । स्थानीय स्तरमा नै पाइने सामग्र्रीहरुबाट कार्यक्रममा सहभागी हुनेहरुलाई स्वागत सत्कार गरून् भन्ने उद्देश्यले यस्तो निर्णय गरिए पनि धर्मसँग जोडेर गलत प्रचार गरिएको उनको भनाइ छ ।

सामाजिक सञ्जाहरुमा बौद्ध धर्मसँग सम्बन्धित अगुवाहरुले बौद्ध धर्मको पवित्र खादालाई निषेध गरेर सम्पूर्ण बौद्ध धर्मप्रति आस्था राख्नेहरुलाई वडाले निषेध गर्न खोजेको भन्दै वडाको यो निर्णयको चर्को आलोचना शुरू भएको थियो । सामाजिक सञ्जालहरुमा खादा विरोधी वडा अध्यक्ष नेत्र कार्कीप्रति जे पनि गर्न सक्ने भन्दै बौद्ध धर्मसँग सम्बन्धित अगुवालगायतले धम्कीसमेत दिएका थिए ।

वडाको निर्णयकोा चौतर्फी विरोधपछि असोज १२ गते वडा अध्यक्ष नेत्र कार्कीले आफूहरुले निर्णय गर्दा धार्मिक बाहेक सार्वजनिक कार्यक्रमहरुमा मात्रै खादालाई निषेध गरिएको विज्ञप्ति प्रकाशित गरेका थिए । तर बौद्ध धर्मका अगुवाहरुले भने धार्मिक मात्रै नभएर अन्य सबै कार्यक्रमहरुमा खादालाई निषेध गर्न नहुने भनाइ राख्दै आएका छन् ।