प्रहरी प्रशासनको गम्भीर लापरवाही

Avatar photo
Dhadingpost
अशोज ११, २०७५

काठमाडौँ, असोज ११ । गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कार र हत्याको अनुसन्धानमा प्रहरी प्रशासनको गम्भीर लापरवाही भेटिएको स्वीकार गरेको छ ।

प्रतिनिधिसभाको राज्य व्यवस्था समितिको बुधबारको बैठकमा गृहमन्त्री थापाले निर्मला हत्याकाण्डका दोषीको पहिचान गर्न केही समय धैर्य गर्नुपर्ने बताए । समितिमा सत्तारुढ नेकपाका सांसद झपट रावल, रेखा शर्मा, विजय सुब्बा, प्रमुख प्रतिपक्षी कांग्रेसका अमरेशकुमार सिंहलगायत सांसदले निर्मला हत्याकाण्डमा प्रहरी प्रशासनले नै प्रमाण नष्ट गर्ने र दोषी उम्काउने भूमिका खेलेको भन्दै गृहमन्त्री थापासँग असन्तुष्टि जनाएका थिए ।

‘यस्तो घटनामा त लुगा सुरक्षित राख्नुपर्ने हो’, उनले भने, ‘त्यहाँ त मृतकले लगाएको लुगा जलाउन लगाइएको रहेछ।’ साउन १० गते साथीको घरबाट फर्केपछि हराएकी निर्मलाको साउन ११ गते शव फेला परेको थियो ।

जवाफमा गृहमन्त्री थापाले प्रहरी प्रशासनको कमजोरी स्वीकार गरे। ‘११ गते नै निर्मलाका बुवाको औंठाछापसहित मुचुल्का उठाइएको रहेछ’, उनले भने, ‘जबकि निर्मालाका बुवा भोलिपल्ट १२ गते मात्र भारतबाट नेपाल फर्केका रहेछन् । यस्तै निर्मलाले लगाएको लुगा सुरक्षित गर्नुको साटो जलाइनु पनि गम्भीर कमजोरी भएको उनले स्वीकार गरे ।