छ महिने बालकको तेजाब खन्याएर हत्या

Avatar photo
Dhadingpost
अशोज ४, २०७५

अछाम, असोज ४ । अछामको तुर्माखाँद गाउँपालिका– ४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ ।

यही असोज २ गते बिहान ११ बजेतिर मृतककी आमा भैँसीलाई पानी खुवाउन गएको र फर्किदा बच्चा बेस्सरी कराएको सुनी हेर्दा उनको आँखा, कान, मुख सबैतिर फोका आएकाले तत्काल स्वास्थ्यचौकी र सोही दिन जिल्ला अस्पताल मङ्गलसेन पुर्याइएको थियो ।

मङ्गलसेनमा उपचार सम्भव नभएपछि कोहलपुर मेडिकल कलेज लैजाँदै गर्दा बुधबार बालकको बर्दिया राष्ट्रिय निकुञ्जमा मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

मृतक बालकका बुबा महावीरले आफ्नै भाइबुहारी जानकी बिरुद्ध तेजाब खन्यार्इ कर्तव्य ज्यान गरेको भनी जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएपछि निजलाई नियन्त्रणमा लिएर हिरासतमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

आरोपित महिलाले बालकलाई तेजाब खुवाएको स्वीकार गरिसकेकी र यसबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रमुख जनकबहादुर शाहीले बताए।