काठमाडौं, भदौ २१ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष प्रचण्ड भारत सरकारको निमन्त्रणमा आज भारत जाँदैछन् ।
प्रचण्डको सचिवालयले दिउँसो साढे ३ बजे एयर इन्डियाको विमानमार्फत् उनी त्यसतर्फ जान लागेको जानकारी दिएको छ । उनको भ्रमण टोलीमा पत्नी सीता दाहालसँगै छोरी गंगा, स्वकीय सचिव जोखबहादुर महरा र प्रेस सहयोगी सूर्यकिरण शर्मा रहनेछन् ।
प्रचण्डले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै त्यहाँका मन्त्रीहरुसँग महत्त्वपूर्ण भेटघाट गर्ने तयारी छ । प्रचण्डले मोदी र त्यहाँका मन्त्रीसँग गर्ने भेटघाटलाई चासोका साथ हेरिएको छ ।
प्रचण्डको भ्रमण भारतसँगको सम्बन्ध सुधारमा केन्द्रित हुने बताइएको छ । उनले यसका लागि विभिन्न राजनीतिक भेटघाट तथा छलफल गर्नेछन् ।
प्रचण्डको सचिवालयले दिएको जानकारी अनुसार, प्रचण्ड दिल्ली पुगेलगत्तै बिहीबारदेखि नै भेटघाट तथा छलफलमा व्यस्त हुनेछन् । उनी आजै दूतावासले आयोजना गरेको छलफल कार्यक्रममा सहभागी हुनेछन् ।
प्रचण्ड भदौ २४ गते स्वदेश फर्कनेछन् । नेपाल फर्किएको ६ दिनपछि उनी चीन भ्रमणमा जाने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ ।
