प्लेनभन्दा ट्याक्सी चढ्नु महँगो

Avatar photo
Dhadingpost
भदौ २१, २०७५

काठमाडौं भाद्र २१ । प्रतिनिधिसभा बैठकमा बुधबार सांसद भरतकुमार शाहले उपत्यकावासीलाई ट्याक्सीले ठगिरहेको विषय उठाए । उनले भने, ‘प्लेनले लिने भाडाभन्दा काठमाडौंमा ट्याक्सी भाडा महँगो छ ।’

उनले भैरहवा र धनगढीको जहाज भाडासमेत प्रस्तुत गरेर काठमाडौंको ट्याक्सी भाडासँग तुलना गरे। काठमाडौंदेखि भैरहवा १ सय ८५ किलोमिटर जहाजमा ३ हजार रुपैयाँ ९प्रतिकिलोमिटर १६ रुपैयाँ० मा यात्रा गर्न सकिने उनले सुनाए। उनका अनुसार काठमाडौंदेखि धनगढी ४ सय ८० किलोमिटर दुरी ६ हजार रुपैयाँमा यात्रा गर्न सकिन्छ अर्थात् एक किलोमिटरको १२ रुपैयाँ ५० पैसा पर्छ ।

०७२ माघ २४ मा सरकारले निर्धारित शुल्कअनुसार ट्याक्सीको एक किलोमिटरको ३५ रुपैयाँ छ। नातपौल गुणस्तर विभागले भने यातायात व्यवस्था विभागले निर्धारण गरेभन्दा एक रुपैयाँ बढाएर ३६ रुपैयाँ लिन पाउने गरी मिटरमा सिल लगाउने गरेको छ।

विभागले निर्धारण गरेको भाडाअनुसार ट्याक्सीमा चढनेबित्तिकै मिटरमा १४ रुपैयाँ उठ्छ। प्रतिदुई सय मिटरमा ७ रुपैयाँ उठनुपर्ने हो तर ७ रुपैयाँ २० पैसा उठ्छ । यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सञ्चालन हुने पर्यटक ट्याक्सीले झन मनपरी भाडा लिने गरेका छन्। न्यूनतम भाडा नै ५ सयदेखि ७ सय निर्धारण गरेको छ। विभागले काठमाडौं उपत्यकाभित्र सहरी क्षेत्रका लागि ५ किलोमिटरसम्म ४ सय ८१ रुपैयाँ भाडा तोकेको छ। ५ किलोमिटरभन्दा बढीमा प्रतिकिलोमिटर ६८ रुपैयाँसम्म मात्रै लिन पाइन्छ।

उपत्यकामा बढीमा १ हजार ५२ रुपैयाँ मात्रै लिन पाउने गरी यातायात व्यवस्था विभागले भाडा निर्धारण गरेको छ। तर, विमानस्थलका ट्याक्सी व्यवसायीले मनोमानी भाडा लिने गरेका छन्।,