उपचार शुल्क तिर्न नसक्दा १६ महिना देखि असपतालमा

Avatar photo
Dhadingpost
भदौ १५, २०७५

बुटवल, भदौ १५ । पश्चिम नवालपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २२ बर्षीय युवालाई उपचार शुल्क तिर्न नसक्दा एक निजी अस्पतालले १६ महिनासम्म बन्धक बनाएर राखेको खुलासा भएको छ ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका गोपीगञ्जका २२ वर्षीय सुरज बिकलाई बुटवलस्थित जेनस अस्पतालले उपचार शुल्क तिर्न नसकेको भन्दै १६ महिनासम्म बन्धक बनाएर राखेको हो ।

१ कट्ठा जग्गा दृष्टि बन्धक राखेर १ लाख रुपैयाँ उपचार खर्च जोहो गरेका बिकले अस्पतालले थमाएको १५ गुणा बढी शुल्क तिर्न सकेनन् । ‘खुट्टा भाँचिएको उपचार गर्न भएको १ कट्ठा जग्गा दृष्टिबन्धकी राखेर १ लाख लिएको थिएँ’, बिकले भने, ‘तर अस्पतालले थमाएको १५ लाखको बिल तिर्न नसकेपछि १६ महिनादेखि अस्पतालकै नियन्त्रणमा छु ।

बिक दाहिने खुट्टा भाँचिएपछि ०७४ जेठ १४ मा जेनसमा भर्ना भएका थिए । तर अस्पतालले उनको हातमा १५ लाख रुपैयाँको बिल थमाइदियो ।

रकम तिर्न नसकेर युवक बन्धक बनेको सार्वजनिक भएपछि प्रहरीले उनको उद्धार गर्ने तयारी गरेको छ । इलाका प्रहरी कार्यालय, बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक डिलबहादुर मल्लले युवक अस्पतालमा बन्धक भएको जानकारी पाएसँगै उद्धारको तयारी थालेको जानकारी दिए ।