काठमाडौँ, भदौ १३ । पटकपटक आर्थिक प्रस्ताव रोकिँदा धरहरा पुनः निर्माण कार्य अन्योलमा परेको छ ।
धरहरा निर्माणका लागि आह्वान गरिएको बोलपत्रको आर्थिक प्रस्ताव खोल्न तोकिएको समय आठौँपटक स्थगित भएको छ ।
पटकपटक आर्थिक प्रस्ताव रोकिँदा धरहरा पुनः निर्माण कार्य अन्योलमा परेको हो । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले असार मसान्तमै शिलान्यास गर्ने भने पनि भदौ मध्यसम्म पनि प्रस्ताव खोलिएको छैन ।
वैशाख ३१ गते प्राधिकरणले धरहरा निर्माणसम्बन्धी सूचना प्रकाशन गरेको थियो। सूचनामा दिइएको समयमा छवटा प्रस्ताव पेश भएका थिए। प्रस्तावको प्राविधिक मूल्याङ्कन गरी प्राधिकरणले पाँच निर्माण कम्पनी छनोट गरेको थियो। पाँचवटा निर्माण कम्पनीको आर्थिक प्रस्ताव असार २६ गते खोल्ने भनी असार २० गते सूचना प्रकाशन गरिएको थियो ।
यसबीच असार २६ गतेदेखि सातपटकसम्म प्रस्ताव खोल्ने काम स्थगित हुँदै आएको छ। आठौँपटक मंगलबारलाई तोकिएको मिति पनि सूचना प्रकाशित गरेर भदौ १७ गते आइतबारलाई सारिएको प्राधिकरणका सहसचिव एवम् सम्पदा संरक्षण सार्वजनिक भवन तथा पूर्वाधार महाशाखा प्रमुख राजुमान मानन्धरले जानकारी दिए ।
यससम्बन्धी छानबिन गरी प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेश गरी सकिएको उनले बताए। प्रधानमन्त्री कार्यालयबाट प्रतिवेदन पेश भएपछि प्रस्ताव खोल्नु भनी पत्र प्राप्त नभएकाले स्थगित गरिँदै आएको प्राधिकरणले जनाएको छ ।
नयाँ धरहरा बनाउन आधुनिक निर्माण सामग्रीको प्रयोग गरिने भएको छ। अब बन्ने धरहरामा लिफ्ट र भर्याङसमेत राखिनेछ। धरहरा गुम्बज र गजुरसहित ७२ मिटर अग्लो बन्नेछ ।
भत्किएको धरहराको पूर्वपट्टि नयाँ धरहरा निर्माण गरिनेछ । निर्माणको लागत रु चार अर्ब लाग्ने लागत स्टिमेट तयार भएको छ। यसअघि नेपाल टेलिकमले धरहरा बनाउने गरी जिम्मेवारी दिइए पनि पछि हटेको थियो। टेलिकमले आफैँ नबनाए पनि रु एक अर्ब सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
हाल हुलाक रहेको स्थानमा बगैँचा र पार्किङ निर्माण गरिनेछ। धरहरा बनाउन शुरु गरिहाल्ने र हुलाकलाई हटाउने कामलाई जारी राखिने जनाइएको छ ।
