महोत्तरी, भदौ १२ । महोत्तरीको औरही नगरपालिका–१ मा आठ महिनाकी नाबालिकाको निर्मम हत्या भएको छ ।
औरहीका इन्द्रेश चौधरी र सन्तोष चौधरीकी छोरी सोनाली अपहरणपछि मारिएकी हुन् ।
अबोध बालिकाको हत्या गरी फालिएको अवस्थामा भंगहा नगरपालिका-१ मेघनाथ गोरहन्नास्थित औकसी खोलाको पश्चिमपट्टि सोमबार शव भेटिएको हो । दुधे बालिका सोनालीको आइतबार अपहरण भएको थियो ।
निवस्त्र अवस्थामा शिशुको शव भेटिएको स्थानीय शिवालय चौधरीले बताए । ‘जिउमा केही लुगा थिएन, नाकबाट रगत बगेको देखिन्छ,’ उनले भने, ‘दाहिने गालामा झापट हानेको डाम देखिन्छ, देब्रेमा दाँतले टोकेको देखिन्छ ।
आइतबार साँझदेखि बेपत्ता बालिका खोजिए पनि करिब १९ घण्टापछि औरहीभन्दा ३ किलोमिटरपूर्व शव भेटिएको स्थानीय सत्यनारायण चौधरीले जनाए ।
पोस्टमार्टमका लागि शव जिल्ला अस्पताल जलेश्वर पठाइएको छ । हत्याराले आफूले लगाएका लुगा पनि घटनास्थलमै फालेको छ । बालिकाको शवनजिक पुरुषले लगाउने कालो चश्मा, ब्राउन रंगको अन्डरपेन्ट, सुन्तला रंगको गम्छा, बिस्कुटका खालि खोल प्रहरीले फेला पारेका छन् । बालिकाका लुगा पनि उनको शव नजिक भेटिएको छन् ।
आइतबार साँझ बालिका हराएको थाहा पाउनसाथ प्रहरी खटे पनि राति २ बजेसम्म कहीं भेटिएन’, जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी ईश्वर कार्कीले भने, ‘सोमबार बिहान स्थानीयवासीसँगै खोज्दै जाँदा शव फेला पर्यो ।’ उनले दोषीको पहिचान भइसकेकोले छिट्टै पक्राउ पर्ने दाबी गरे ।
घर छोडी फिरन्ते जिन्दगी बिताउँदै आएको छ,’ एसपी कार्कीले भने, ‘बच्चा उठाएर लगेको व्यक्तिले नै कर्तव्य गरेको हाम्रो शंका छ ।’
पसलबाटै टिपेर लगियो बालिका
औरही बजारमा इन्द्रेश र सन्तोषको सिद्धार्थ फेन्सी एन्ड रेडिमेट छ । आमा इन्द्रेशसँग खेल्दै गरेकी बालिकालाई अपरिचितले आइतबार साँझ उठाएर लगेका थिए ।
चौधरी पति-पत्नीले पसल आलोपालो सञ्चालन गर्दै आएका थिए । आइतबार रक्षाबन्धन परेकाले सन्तोष बहिनीको घर सर्लाहीको मधुवनपट्टि गएका थिए । पति नहुँदा इन्द्रेशले पसल अगाडि खाटमा छोरी सुताएकी थिइन् ।
‘कपाल खौरेको केटो पसलमा टोपी किन्न आयो, टोपीको मूल्य सोध्यो र महँगो भन्दै हिंड्यो’, इन्द्रेशलाई उद्धृत गर्दै स्थानीय सुमित्रा चौधरीले भनिन्, ‘सन्तोषदाइ हुँदा सामान सस्तोमा दिनुहुन्थ्यो भन्दै निस्केको त्यही केटोले खाटमा रहेको बच्चा खेलाउन थाल्यो ।
इन्द्रेशले पसल मिलाउन लाग्दा उसले बालिका लिएर भागेको उनले बताइन् । पसल बन्द गरेर बच्चा खोज्दा नभेटिएपछि परिवारले प्रहरीमा खबर गरेको थियो ।
