भक्तपुर, भदौ । आज गाईजात्रा बिभिन्न स्थानमा आ–आफ्नै परम्परा अनुसार मनाइदै छ । गाईजात्रालाई नेपाल भाषामा सापारु भनिन्छ ।
त्येक वर्ष श्रावण शुक्ल प्रतिपदाको दिन गाई जात्राको सुरुवात गरिन्छ । गाईलाई विधिवत रूपमा नगर परिक्रमा गराएमा दिवंगतआत्माहरू सजिलैसित स्वर्गलोकमा पुग्छन् भन्ने धार्मिक विश्वास छ ।
भक्तपुरमा गाईजात्राका दिन वर्षभित्र मृत्यु भएकामध्ये उमेर नपुगेका बालबालिकाहरूको साँचा अर्थात डोकोलाई गाईको रूपमा सिंगारेर नगर परिक्रममा गर्ने गरिन्छ भने उमेर पुगेका व्यक्तिहरूको ताहामच्चा अर्थात चार वटा बाँस प्रयोग गरी गाईको प्रतिक बनाइ नगर परिक्रमा गर्ने प्रचलन रहेको छ । ताहामच्चालाई मृतकका घरको मुल ठोका अगाडि पुरोहितले क्रियापुत्रीद्वारा विधि बमोजिम पूजा गराइ नगर परिक्रमा गर्ने गरिन्छ ।
भक्तपुरमा गाईजात्राको दिन र त्यस पछिको सात दिनसम्म पनि विभिन्न नाच व्यङगात्मक नाटक साँस्कृतीक कार्यक्रमहरू प्रर्दशन गर्ने प्रचलन छ । तलेजु भवानीको तहामच्चाको नगर परिक्रमाबाट गाईजात्रा शुरु हुन्छ भने बेलुका पख भैरव र भद्रकालीको तहामच्चा ल्याएपछि समाप्त हुन्छ । भक्तपुर जिल्लाकै ठिमीमा भने गाईजात्रापर्व राँको बालेर मनाइने चलन छ ।
ताहामच्चा र साँचा बनाउने यस पर्वको एउटा विषेशता हो भने घिन्ताङ्गघिसी र माँक प्याखँ बाँदर नाच गाईजात्राको प्रमुख आकर्षण रहेको छ । विभिन्न साँस्कृतिक बाजा खिङ, धिमे, तं, भुक्ष्या बाजाका साथ ताहामच्चासगै घिन्ताङ्गघिसी नाच प्रदर्शन गरिन्छ । दुई जोडीले बाजाको तालमा लठ्ठी ठोक्काउने नाचलाई घिन्ताङ्घिसी नाच भनिन्छ भने एक जनाले दुई वटा लठ्ठी जुधाई नाच्नेलाई बाँदर नाच भनिन्छ ।
