खोटाङ, भदौ ८ । कारागारबाट फरार कैदी ३६ वर्षीय वीरबहादुर तामाङ १३ वर्षपछि पुनः पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका ३६ वर्षीय वीरबहादुर तामाङ रहेको छ । उनी २०६२ साल असार ५ गते कारागारबाट भागेका थिए । प्रहरीले उनलाई आज घरैबाट पक्राउ गरेका हुन् ।
पक्राउ परेका तामाङलाई बिहीबारै जिल्ला अदालतमा हाजिर गराएर कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक राजकुमार केसीले जानकारी दिए ।
हत्यामा संलग्नमध्ये कटकबहादुर तामाङ यसअघि नै पक्राउ परेर कैद भुक्तान गरिरहेका छन्,” केसीले भने, “घटनामा संलग्न अझै एक जना फरार छन्, उनको खोजी भइरहेको छ ।”
विसं २०६० असोज १५ गते स्थानीय २१ वर्षीय नवराज दाहालको हत्या गरेको अभियोगमा तामाङसहित तीन जना पक्राउ परी पुर्पक्षका लागि कारागारमा रहेका थिए । जिल्ला अदालत खोटाङले २०६३ चैत ६ गते तीनै जनालाई २०–२० वर्ष कैद सजाएको फैसला गरेको थियो ।
