काठमाडौँ, भदौ ९ । नेपाली काँग्रेसको महासमिति बैठकको मिति तय गर्न सो पार्टीको केन्द्रीय समिति बैठक शुक्रबार बस्दैछ ।
बिहान ११ बजेपछि बस्ने बैठकले पार्टीको तेह्रौँ महाधिवेसनपछि एकपटक पनि बस्न नसकेको महासमिति बैठकको मिति तय गर्ने सो पार्टीका नेताहरुले बताएका छन् ।
नेताहरुका अनुसार सभापति देउवा असोज पहिलो साता मिति तोक्नुपर्ने पक्षमा छन् भने धेरै नेताहरु भदौ अन्तिममै महासमिति बैठक तोक्नुपर्ने पक्षमा छन् ।
यो बाहेक बैठकमा अन्य समसामयिक राजनीतिक विषयमा समेत छलफल हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए ।
तर, स्वयम् सभापति देउवा सदस्य रहेको संवैधानिक परिषदको भदौ ७ गते बिहीबार बसेको बैठकले सर्वोच्चको प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सहजै सिफारिस गर्ने निर्णयमा देउवाले सहमति जनाएपछि उनको भूमिका शंकास्पद भएको भन्दै देउवाको जवाफ माग्ने तयारी गरेका छन् ।
साउन २२ को काँग्रेस बैठकमा काँग्रेसका कतिपय केन्द्रीय सदस्यले संसदीय सुनुनवाई समितिबाट अस्वीकृत भएको विषयमा प्रश्न नउठाउदै राम्रो हुने सुझाव दिएका थिए । उनीहरुले संवैधानिक परिषदका अध्यक्ष प्रधानमन्त्री केपी ओलीमाथि मात्रै प्रश्न उठाउँदा राम्रो हुने धारणा राखेपनि सभापति देउवाले संसदीय समितिमाथि नै प्रश्न उठाउनुपर्ने भन्दै बैठकको निर्णयमा संसदीय समितिको नाम जबर्जस्ती थप्न लगाएका थिए ।
उक्त बैठकले प्रधानन्यायाधीश नियुक्ती प्रकरणमा सरकारले स्वतन्त्र न्यायालयमाथि हस्तक्षेप गरेको भन्दै सरकारको कडा आलोचना गरेको थियो । सो बैठकमा संवैधानिक परिषद्बाट सिफारिस भएका दीपकराज जोशीलाई संसदीय सुनुवाई समितिले अस्वीकार गरेको विषयमा काँग्रेसमा मत बाझिएको थियो ।
श्रोतका अनुसार उक्त बैठकमा देउवा बाहेकका नेताहरुले संसदीय सुनुवाई समितिको कार्यक्षेत्रमाथि पार्टीले कुनै हस्तक्षेप गर्न नमिल्ने धारणा राखेका थिए । तर, सभापति देउवाले संसदीय सुनुवाई समितिलाई नै प्रहार गर्नेगरी निर्णय गराएका थिए । जसको काँग्रेसले केही समय ‘डिफेण्ड’ पनि गर्दै आएको थियो ।
