बाँके, भदौ ८ । बाँकेमा धानमा मल हाल्ने समय पार हुनलाग्दा समेत यूरिया मल नपाएपछि किसान धान उत्पादन घट्ने चिन्तामा छन् ।
धानले बाला निकाल्ने समयसम्म किसानले मल हाल्न सकेका छैनन् । हरेक वर्ष यतिबेला युरिया मलको अभाव हुने भएपनि मल व्यवस्थापनको जिम्मेवारी लिएको कृषि सामाग्री केन्द्रले किसानलाई मल पु¥याउन सकेको छैन ।
‘सधै साउन र भदौको महिनामा मलको अभाव हुन्छ, तर हरेक वर्ष यो समस्या दोहोरिरहन्छ’–बाँके खजुरा गाउँपालिकाका किसान लालबहादुर खत्रीले भने, सम्वन्धित निकायलाई भन्दा पनि सुनाई हुन सकेको छैन ।
उनले खजुरामा यूरिया मात्र नभएर पोटास, डिएपी मल अभाव भएको बताए। ‘अहिले मल छर्ने समय भएको छ, यो समयमा छर्न पाइएन भने उत्पादन घट्दछ’–खत्रीले भने–‘‘यो समयमा सधै यस्तै हुन्छ, भारतबाट लिउँ भने पनि एसएसबीले २ किलो पनि लिन दिँदैन, नेपालमा पाइदैन’ उनले दुखेसो पोखे ।
यसैबीच, खजुरा गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतीले यो समस्याका बारेमा सम्वन्धित निकायसँग छिटो मल लिनका लागि पहल गर्ने बताएका छन् । उनले अहिले सम्म आफुलाई यस बारेमा आफुलाई कुनै जानकारी नआएको भन्दै भने, ‘म जिल्ला बाहिर भएकोले मल अभावका बारेमा केहि थाहा भएन, यस्तो अभाव भएको भए म छिट्टै समाधानका लागि सम्वन्धित निकायसँग कुरा गर्छु ।
कृषि सामाग्री केन्द्र क्षेत्रीय कार्यालय बाँकेले यूरिया बाहेक अरु मल स्टक रहेको बताएको छ । बाँकेमा अनुदान स्वरुप यूरिया मल ३ हजार मेट्रिक टन आउने भए पनि २०७४÷७५ मा ४ हजार ३ सय ८१ मेट्रिक टन वितरण गरेको कृषि सामाग्री केन्द्र क्षेत्रीय कार्यालय बाँकेका निमित्त प्रमुख रमेशकुमार पौडलले बताए । ०७५÷७६ को अनुदानमा पनि ९ सय मेट्रिक टन यूरिया मल वितरण गरेको उनले जानकारी दिए । भारतबाट मल लोड भइसकेकोले अब सोमबारसम्म मल वितरण गरिसक्ने पौडेललको भनाई रहेको छ । ‘शुक्रबार सम्म तौलुना सम्म आइपुग्छ ।’–उनले भने–‘शनिबार भैरहवा आए बाँकेमा सोमबार सम्म वितरण गरिनेछ ।
बाँकेमा ५ हजार यूरिया मलको माग भए पनि अहिले ३ हजार मात्र आउने गरेको र कृषि मन्त्रालयसँग यसको अनुदान बढाउन माग गरिरहेको समेत उनले बताए । बाँकेमा कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले सहकारीलाई मल वितरण गर्दै आएको छ । बाँकेमा ३६ हजार ५ सय हेक्टर जमिनमा धानखेती हुँदै आएको छ ।
