काठमाडौं,साउन ३० । भदौ १ गतेदेखि लागू हुने मुलुकी देवानी (संहिता) ऐन २०७४ ले घरधनीले विनाकारण बहालवालालाई हटाउन नपाउने भएका छन् ।
ऐन अनुसार घरधनी आफैंलाई आवश्यक परेको खण्डमा पनि कम्तीमा ३५ दिनअघि नै बहालवालालाई लिखित जानकारी गराउनुपर्नेछ । बहालमा दिएको घर वा कोठाको कानुन बमोजिम लाग्ने कर लगायत अन्य दस्तुर बुझाउनुपर्ने दायित्व घरधनीको हुने ऐनमा उल्लेख छ ।
धेरै घरधनीले आफ्ना लागि आवश्यक भएको भन्दै बहालवालालाई घर वा कोठा खाली गर्न लगाउने र तुरुन्तै भाडा रकम बढाएर अर्कोलाई दिने गर्दछन् ।
अब त्यस्ता घरधनीमाथी मुलुकी ऐनले यस्तो अंकुश लगाउने व्यवस्था गरेको छ । ऐनमा घरधनीले आफैंलाई आवश्यक भनेर बहालवालालाई निकालेमा ३ महिनासम्म अर्कोलाई बहालमा दिन नपाउने व्यवस्था गरिएको छ ।
