म्याग्दी, साउन ३० । अन्नपूर्ण गाउँपालिका–४ कोप्चेपानीस्थित धवलागिरि आधारभूत विद्यालय आज कालीगण्डकीले बगाएको छ ।
कालीगण्डकीले धार परिवर्तन गरेपछि ६ कोठे भवन बगाएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा खड्काले जानकारी दिनुभयो । कक्षा तीनसम्म पठनपाठन हुने उक्त विद्यालयमा २० विद्यार्थी अध्ययनरत छन् ।
बाढीका कारण मुस्ताङ प्रवेश गर्ने पदमार्गमा पर्ने कोप्चेपानीको बस्ती जोखिममा रहेको वडाध्यक्ष चन्द्रप्रकाश फगामीले बताउनुभयो । कोप्चेपानीमा २४ घरधुरीको बसोबास छ ।
केही दिनदेखि यहाँ निरन्तर वर्षा भइरहेको छ । कालीगण्डकीको बाढी करीब ४० मिटर बस्तीतर्फ पसेको छ । बाढीले लगातार जग्गा कटान गरिरहेको छ । पाँच दिनअघि कालीगण्डकीले आफ्नो धार परिवर्तन गरेर कटान शुरु गरेको हो ।
