एजेन्सी, साउन २३ । भारतको तमिलनाडु राज्यका पूर्व मुख्यमन्त्री तथा डीएमके पार्टीका अध्यक्ष एम करुणानिधिको अन्त्येष्ठिका विषयमा विवाद भएको छ ।
करुणानिधिको अन्त्येष्टि कहाँ गर्ने भन्ने विवाद अदालतमा पुगेको छ । उनको पार्टीले मरिना तटमा अन्त्येष्टि गर्नुपर्ने माग गरेको छ । यो तटमा तमिलनाडुका वरिष्ठ राजनीतिज्ञको अन्त्येष्टि हुँदै आएको हो । तर प्रदेश सरकारले यसलाई अनुमति दिएको छैन ।
तमिलनाडु सरकारका मुख्य सचिव गिरिजा वैद्यनाथनले करुणानिधिको समाधीका लागि अन्ना विश्वविद्यालयको अगाडि दुई एक जमिन तयार पारिएको जानकारी दिएका छन् ।
चेन्नइस्थित कावेरी अस्पतालमा उपचाररत करुणानिधिको ९४ वर्षको उमेरमा हिजो निधन भएको हो । तमिलनाडु सरकारले उनको मृत्युप्रति शोक व्यक्त गर्दै आज सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गत जुलाई २८ मा उहाँलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो ।
उनको जन्म सन् १९२४ को जुन ३ मा तमिलनाडुको नागापट्टिनम जिल्लामा भएको थियो । करुणानिधिको सन् २०१६ देखि स्वास्थ्यमा समस्या देखिएपछि पटकपटक उपचार भइरहेको थियो । करुणानिधिले करिब ५० वटा तमिल भाषामा निर्मित फिल्मको पटकथा तथा संवाद लेखनसमेत गरेका थिए ।
