काठमाडौं, साउन २१ । सरकारले बंगलादेशमा मेडिकल शिक्षा अध्ययनका लागि जाने अधिकांश विद्यार्थीले दुःख पाइरहेको नेपाल मेडिकल स्टुडेन्ट एसोसियसन बंगलादेशले जनाएको छ ।
एसोसिएसनले बंगलादेश लगायत विदेशका कलेजहरूमा अध्ययनरत आठ हजार विद्यार्थीको पठनपाठनका विषयमा नेपाल सरकारको आधिकारिक धारणा तत्काल सार्वजनिक गर्न र शिक्षा मन्त्रालय एवं नेपाल मेडिकल काउन्सिलबाट स्वीकृति पाएर विदेशका विभिन्न कालोसूचीमा परेका कलेजहरूमा पढ्दै गरेका नेपाली विद्यार्थीलाई नेपाल कै मेडिकल कलेजहरूमा स्थानान्तरण गर्न माग गरेको छ ।
एसोसिएसनका अध्यक्ष नवीन यादवले बंगलादेशमा रहेका कुल एक सय वटा मेडिकल कलेजमध्ये सरकारबाट सञ्चालित २५ वटा कलेज राम्रो रहे पनि निजी क्षेत्रबाट सञ्चालित अधिकांश कलेज गुणस्तरहीन रहेको तथा ३६ वटा कलेज कालोसूचीमा रहेको बताए । उनका अनुसार कालोसूचीमा रहेका कलेजमा पढ्ने कतिपय विद्यार्थीले आत्महत्या गर्ने गरेका छन् ।
एसोसिएसनले राजधानीमा पत्रकार सम्मेलन गरी बंगलादेशमा पढ्नका लागि जाने विद्यार्थीसँग कन्सल्ट्यान्सीवापत पाँचदेखि सात लाख रूपैयाँसम्म कमिसन लिने गरेको तथा कमिसन बुझाउन नसक्ने विद्यार्थी कालोसूचीमा रहेका कलेजमा पढ्न पठाइने गरेको जनाएको छ ।
