७७ वटै जिल्लामा सरकारविरुद्ध कांग्रेसको प्रदर्शन

Avatar photo
Dhadingpost
साउन १५, २०७५

काठमाडौं, साउन १५ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले ७७ वटै जिल्लामा प्रदर्शन गर्न लागिएको जानकारी दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।

संवैधानिक अंगमा हस्तक्षेप, निषेधित क्षेत्र तोक्दै नागरिक अधिकारको हनन गरेको, संसदमा सभामुख र उपसभामुख फरक–फरक दलको हुनुपर्नेमा एकै दलको बनाएर संविधान मिचेकोलगायतका गतिविधिप्रति रुष्ट बन्दै काँग्रेसले प्रदर्शन गर्न लागेको हो ।

नेकपाका अध्यक्ष केपी ओली नेतृत्वको सरकार अधिनायकबादी बाटोमा अग्रसर भएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशभर सरकारविरुद्ध प्रदर्शन गर्दैछ ।

हरेक जिल्लामा फरक फरक कार्यतालिका रहेको छ । काठमाडौं जिल्लाको हकमा दिउँसो २ः३० बजे रत्नपार्क शान्तिबाटिकाबाट प्रदर्शन हुनेछ । काँग्रेसले सर्वसत्ताबाद, बढ्दो महंगी विरुद्ध र लोकतान्त्रिक पद्धतिको रक्षाको निम्ति सहभाागी हुन समेत अपिल गरेको छ ।

काँग्रेसको यो कार्यक्रम ३० भन्दा बढी देशहरुमा पनि गरिने जनाइएको छ । सरकारका गलत कामका विरुद्धमा खवरदारी गर्ने जनाइएको छ । काँग्रेसले आन्दोलनका लागि १० मुद्दा र तीन आरोप अगाडि सारेको छ ।