बलात्कारीलाई मृत्युदण्ड दिन कांग्रेसको माग

Avatar photo
Dhadingpost
साउन १३, २०७५

काठमाडौं, साउन १३ । आइतबार संसदको शून्य समयमा बोल्दै कांग्रेस नेतृ उमा रेग्मीले बलात्कारीलाई मृत्युदण्डको सजायको व्यवस्था नेपालमा पनि व्यवस्था गर्नुपर्ने बताइन् ।

कञ्चनपुरको भिमदत्तनगरमा १३ वर्षीया बालिका निर्मला पन्तको हत्या भएको प्रसंग उठाउँदै रेग्मीले भनिन्, ‘७७ वर्षीया वृद्धादेखि साढे दुई वर्षीया बालिकासम्म श्रृंखलावद्ध बलात्कृत भइरहेका छन् । यसै सिलसिलामा निर्मला पन्तको बलात्कार भएको छ । कानुन संशोधन गरेर मृत्युदण्डकोसम्म कारवाही गर्नुपर्छ बलात्कारीलाई ।’

उनले सरकारले बलात्कारीलाई खोजेर कारवाही गर्नुको साटो स्थानीय जनतालाई कारवाही गरेको भन्दै उनले आक्रोश पोखिन् । उनले लासको राजनीति गर्न खोजेको भनेर कांग्रेसलाई लागेको आरोपको खण्डनसमेत गरिन् ।

त्यसैको प्रतिउत्तरमा रेग्मीले भनिन्, ‘बलात्कारको विरोधमा उत्रिएका जनतामाथि लाठी बर्साएको छ । धरपकड गरेको छ । यहाँ चाहिँ लासमाथि राजनीति नगर भन्ने रु लासको राजनीति गर्ने पार्टी नेपाली कांग्रेस होइन ।’

आजको शून्य र विशेष समयमा बोल्ने सांसदहरुले कञ्चनपुरको भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा तत्काल पत्ता लगाई कडा कार्वाही गर्न सरकारसँग माग गरेका छन् । कतिपय सांसदले यस विषयमा गृहमन्त्रीको जवाफसमेत मागेका छन् ।
टयूसन पढ्न गएकी पन्तको उखुबारीमा शव भेटिएको थियो ।

संसद बैठकमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले घटनाको निन्दा र भत्सर्ना गर्दै हत्यारालाई पक्राउ गरी कार्वाही गर्न सरकारसँग माग गरे ।