जोशीको प्रमाणपत्र शंकाको घेरामा

Avatar photo
Dhadingpost
साउन १३, २०७५

काठमाडौं, साउन १३ । शैक्षिक योग्यताको प्रमाणमा शंकाको घेरामा परेपछि प्रधानन्यायाधीशमा सिफारिस भएका दीपकराज जोशीको नाम अनुमोदन प्रक्रिया अझै पर धकेलिएको छ ।

उनको विषयमा निर्णय गर्न आइतबार बिहान संसदीय सुनवाई विशेष समितिको बैठक डाकिए पनि थप अध्ययन गर्न पर्ने भन्दै भोली सोमबारसम्मका लागि बैठक स्थगित गरिएको छ ।

गत बिहीबार सुनुवाइ सकिए पनि जोशीको अनुमोदनबारे निर्णय भएको छैन। शैक्षिक योग्यताको विवादले चर्किए पछि उनको नियुक्ति अन्योलमा परेका हो ।

जोशीको विषयमा उच्च राजनीतिक तहमा समेत परामर्श भइरहेको स्रोतले जनाएको छ । सुनुवाइ समिति सदस्यले जोशीको प्रमाणपत्रबारे नयाँ तथ्य फेला परेको र विवादमा परेकाले प्रमाणपत्रबारे थप बुझ्नु प्रधानमन्त्री लगायत अरु सदस्यहरुले सुझाव दिएको स्रोतले जनाएको छ ।

उनको विषयमा निर्णय गर्न शुक्रबार बैठक बस्ने भने पनि बैठक नै नबसी स्थगित गरिएको थियो । आइतबारका लागि डाकिएको बैठक पनि सोमबारसम्मका लागि सारिएको छ । बिहिबार जोशीको सिंहदरबारमा चार घण्टा सुनुवाइ भएको थियो । सुनवाईका क्रममा सांसद्हरुले साढे ३ घण्टा प्रश्न गर्दा जोशीले जम्मा १७ मिनेट मात्रै उत्तर दिएका थिए ।

१५ सदस्यीय समितिमा दुई तिहाइ पुर्‍याउन १० जना सदस्यको सहमति आवश्यक पर्छ । संवैधानिक व्यवस्थाअनुसार समितिको दुई तिहाइ मतले सिफारिस अस्वीकृत गर्न सक्छ ।