भरतपुर महानगरले थाल्यो हचुवामा चक्रपथको शिल्यानास निर्माण

Avatar photo
Dhadingpost
साउन १३, २०७५

चितवन, साउन १३ । भरतपुर महानगरपालिकाले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाएर तामझामका साथ चक्रपथको शिलान्यास गरायो ।

चितवन क्षेत्र नम्बर ३ का सांसद समेत रहेका उनले भरतपुरको पहिटानीमा पहिलो खण्डको र नारायणगढमा दोस्रो खण्डको शिलान्यास गरे । दुवै खण्डको काम दुई वर्षमा सक्ने लक्ष्य छ ।

डिभिजन कार्यालयका प्रमुख कुमार घिमिरेले महानगरले भनेअनुसार सडक र ढलको लागत इस्टिमेट, डीपीआर, टेण्डरको काम गरेको बताए । तर, महानगरको सिंगो चक्रपथ कस्तो हुने भन्ने बारेमा आफूहरु पनि अनभिज्ञ रहेको उनको भनाइ छ ।

‘पूरा चक्रपथको डिटेल नक्सा र त्यसको लम्वाइका बिषयमा हामीलाई पनि जानकारी छैन,’ प्रमुख घिमिरेले भने, ‘उहाँहरुले जहाँ–जहाँ काम गरिदिन भन्नुभयो, त्यही काम गरेका छौं ।’

भरतपुर महानगरका प्रमुख प्रशासकीय अधिकृत नेत्र सुवेदीले पनि चक्रपथको ठोस योजना महानगरसँग नभएको स्वीकार गरे । ‘पूरा चक्रपथको डिजाइन छैन, चालु आर्थिक वर्षमा भने त्यसका लागि रकम छुट्टाएका छौं,’ उनले भने, ‘कन्सल्टेन्टमार्फत अन्य काम हुन्छन् ।’

महानगरपालिकाको एक कार्यपालिका सदस्यका अनुसार छिटो काम देखाउन विना योजना चक्रपथको निर्माण थालिएको हो । ‘अहिलेसम्म ठोस काम भएको छैन, केही नयाँ देखाउनका लागि चक्रपथ निर्माण थालिएको हो,’ ति सदस्यले भने, ‘हत्तपत्तको काम लत्तपत्त हुन्छ ।’

तर, चक्रपथको न गुरुयोजना छ, न डीपीआर नै बनेको छ । झन्डै २ अर्ब रुपैयाँ खर्चिएर बनाउन लागिएको चक्रपथ कहाँ–कहाँ भएर जान्छ कुन बस्तीलाई कहाँ छुन्छ पेट्रोल पम्प कहाँ कति दूरीमा हुन्छन्कु नै योजना महानगरसँग छैन ।

नत यसको डीपीआर नै तयार छ । ९५ किलोमिटर लामो चक्रपथ भनेर हचुवाकै भरमा भनिएको छ । भरतपुर महानगरका इन्जिनियर कृष्णबहादुर मल्ल ठकुरीले ९५ किलोमिटर होला भनेर अनुमान गरिएको बताए । उनले भने, ‘यो बढ्न पनि सक्छ ।’

चक्रपथ निर्माण कसरी गर्ने र चक्रपथ कहाँ कस्तो बन्ने भन्ने आफूलाई जानकारी नभएको उनले स्वीकार गरे ।

अनौठो के भने इन्जिनियर ठकुरीले नै महानगरको तर्फबाट सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयसँग समन्वय गरेर चक्रपथ निर्माणको काम गरिरहेका छन् ।